तनहुँको शुक्लागण्डकी नगरपालिकाले मंगलबार सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न गरेको छ । जनस्तरबाट आवश्यक सुझाव समेत संकलन गर्ने उदेश्यसहित नगरपालिकाले शुक्लागण्डकी पत्रकार मञ्चसँग समन्वय गरेर सार्वजनिक सुनुवाई गरेको हो ।
यस बर्ष शुक्लागण्डकी नगरपालिका वडा नम्वर ५, ६, र ७ नम्वरका नागरिकहरुलाई उपस्थित गराई उनीहरुबाट, सुझाव, समस्या र नगरपालिकाले गरेका कामहरुको बारेमा जानकारी दिइएको थियो । उक्त अवसरमा चालु आर्थिक वर्षमा १ अर्ब २४ करोडको बजेट सार्वजनिक भएको, २० करोड ९२ लाख आन्तरिक आयको लक्ष्यमा करिव ५० प्रतिशत हालसम्म संकलन भएको, तीन सय बढि योजना मध्य ७० प्रतिशत सम्झौता भएको र १४ वटा बोलपत्र आह्रान गरि नगरपालिका योजना सञ्चालन गरिएको नगरपालिकाका प्रशासन शाखा पमुख लक्ष्मण लम्सालले जानकारी दिनुभयो ।
नगरबासीहरुले विकास निर्माणमा जनप्रतिनिधीबाट गरेको अपेक्षा र वास्तविक अवस्था मेल नखाएको भन्दै अधिकाँशले गुनासो गरेका थिए । नागरिकहरुले जिपि कोइराला राष्ट्रिय स्वासप्रस्वास उपचार केन्द्रमा विमाबापत उपचार गराएपनि औषधी नपाउने समस्यादेखि शुक्लागण्डकीमा ढुँगा गिटी बालुवाको अवैध उत्खनन् हुने गरेको, सुकुम्वासीहरुको समस्या समाधान नभएको, विस्तारित राजमार्गको काम अस्तब्यस्त बनेको, कृषि, स्वास्थ्य, शिक्षा क्षेत्रमा प्रभावकारी काम नभएको लगायतका समस्या समाधान गर्न जनप्रतिनिधीहरुलाई आग्रह गरेका थिए ।
सार्वजनिक सुनुवाईमा नागरिक पहिलो अभियानका शुक्लागण्डकी संयोजक जनार्दन वियोगी, बेलचौताराका स्थानीय कमलराज घिमिरे, दिनानाथ पौडेल, सन्जय थापा सार्की, जीतबहादुर कार्की, रुपा राना, जायश्वर पाण्डे, कलावती श्रेष्ठ लगायतले जनताको समस्यामा छलफल गर्न जनप्रतिनिधीहरु तयार नहुने गरेको, नगरपालिकाले कृषि संकलन केन्द्र सञ्चालन गर्न नसकेको,सार्वजनिक जमिनको संरक्षणमा स्थानीय सरकारले चासो नदिएको, विषय विज्ञ प्राविधिकको अभावमा समस्या भोग्नुपरेका लगायतका गुनासो गरेका थिए ।
