तनहुँको डुम्रेमा जारी चौंथो डुम्रे साँस्कृतिक महोत्सवमा सोमबार सुनामी आएको छ । दर्शकको चाहना र महोत्सवमा फरक अनुभवको आनन्द दिन सुनामी पिङ ल्याइएको महोत्सवका प्रवक्ता सुबोध अधिकारीले बताए । सुनामी खेल खेल्न पहिलो दिनमै दर्शकको ठुलो भीड लागेको थियो । यस्तै महोत्सवमा डुङ्गा चढ्न पाइने व्यवस्था मिलाइएको छ । विभिन्न रमाइलो मेलाका अतिरिक्त चुँदी खोलामा ताल बनाएर एकसय रूपयाँमा डुङ्गा चढ्न पाइने भए पछि दर्शक त्यसतर्फ समेत आकर्षित भएको प्रवक्ता अधिकारीले बताए । हिमालयन रिभर अपरेटर कम्पनीको दुईवटा डुङ्गा दर्शकहरूको लागि राखिएको छ ।
यस्तै महोत्सवमा आउने दर्शकहरूको लागि हरेक दिन ख्यातिप्राप्त राष्ट्रिय कलाकारले मनोरञ्जन दिइरहेका छन् । महोत्सवमा सोमबार चर्चित गायिका रचना रिमालले भरपुर मनोरञ्जन दिएको कलाकार संयोजक सुनिल श्रेष्ठले बताए । गायिका रिमालले करिब आधा दर्जन गीत गाउँदै स्टेज तताएकी थिइन् । यस्तै महोत्सवमा खुला दोहोरी प्रतियोगिता समेत भइरहेको कलाकार संयोजक श्रेष्ठले बताए ।महोत्सवमा हरेकदिन ख्यातिप्राप्त कलाकार आएपछी दर्शकको चाप पनि दिनदिनै बढेको छ । यस्तै आयोजकले महोत्सव प्रवेशमा बिहान ११ बजेसम्म निशुल्क प्रवेशको व्यवस्था मिलाएपछि पनि दर्शक बढेका छन् । महोत्सवमा आउने दर्शकहरूलाइ विभिन्न किसिमका सुविधा दिएको आयोजकले प्रवेश पास समेत निशुल्क व्यवस्था मिलाएको हो । यस्तै महोत्सवमा जेष्ठ नागरिक तथा १० वर्ष मुनिका बच्चालाई समेत निशुल्क गरिएको महोत्सवका सहनिर्देशक राजेन्द्र पियाले बताए । यस्तै महोत्सव उद्घाटनका दिन व्यानर लिएर आउने आमा समूह लगायतका संघसंस्थाका प्रत्येक टिमलाई १० वटा पास पनि निशुल्क छुट्याइएको पियाले जानकारी दिए ।
यस्तै महोत्सवमा बन्दिपुर केवलकारमा छुट , रेष्टुराँमा छुट , एनटिसिको सिमकार्ड फ्री लगायतका सुविधा हरू समेत व्यवस्था मिलाइएको छ । दर्शकहरूको सेवा सुविधालाई ध्यानमा राखी सिम फ्री मा दिन थालिएको महोत्सवका प्रवक्ता सुवोध अधिकारीले बताए । यस्तै महोत्सवमा टिकट काट्नेले बन्दिपुर केवुलकारमा समेत विभिन्न छुट पाउने भएका छन् । महोत्सवको टिकटमा बन्दिपुर केवलकार जान ३५५ छुटको व्यवस्था गरिएको छ । यस्तै रेष्टुराँमा १५ प्रतिशत , स्काइलिङ , जिपल्याण्डमा २५ प्रतिशत छुटको व्यवस्था गरिएको छ ।
व्यापारिक, सांस्कृतिक, पर्यटकीय विकासको नारा, डुम्रे महोत्सवको अभिभारा ” भन्ने मुख्य नारा सहित बुधबारबाट सुरु भएको महोत्सव भानु नगरपालिका वडा नं १ को पुल्चोकमा भइरहेको छ ।
तनहुँ उद्योग वाणिज्य संघ, डुम्रे बजार इकाइको आयोजनामा भएको महोत्सवले यस क्षेत्रका आर्थिक, सामाजिक, सांस्कृतिक र पर्यटन प्रवर्द्धनमा योगदान पुर्याउने लक्ष्य राखिएको छ । तनहुँ उद्योग वाणिज्य संघ डुम्रे बजार इकाईका अध्यक्ष हेमलाल भिकेले महोत्सवले यस क्षेत्रको समग्र विकासमा टेवा पुग्ने विश्वास व्यक्त गरे । महोत्सवमा स्थानीय उत्पादन, व्यापारिक स्टल, सांस्कृतिक कार्यक्रम, पर्यटकीय गतिविधि र मनोरञ्जनात्मक कार्यक्रमहरू प्रस्तुत गरिने आयोजकले जनाएको छ। महोत्सवले क्षेत्रीय पहिचानलाई अझ सुदृढ गर्दै आर्थिक गतिशीलता बढाउने अपेक्षा गरिएको छ ।