तनहुँको डुम्रेमा जारी चौंथो डुम्रे साँस्कृतिक महोत्सवमा सोमबार ख्यातिप्राप्त राष्ट्रिय कलाकार रचना रिमाल लगायत आउने भएका छन् । राष्ट्रिय कलाकार सँगै अन्य स्थानीय कलाकारका साथै दोहोरी प्रतियोगिता हुने महोत्सवका कलाकार संयोजक सुनिल श्रेष्ठले बताए ।महोत्सवमा हरेकदिन ख्यातिप्राप्त कलाकार आएपछी दर्शकको चाप पनि दिनदिनै बढेको छ । आइतबार राष्ट्रिय कलाकार शिव हमाल लगायतका कलाकारले महोत्सवमा प्रस्तुति दिएका थिए । सनिवार ठुलो भिड लागेको महोत्सवमा आइतबार पनि दर्शकको उपस्थिति बाक्लो रहेको थियो ।

आयोजकले महोत्सवमा सुनामी खेल समेत भित्र्याएको छ । जिल्लामै पहिलोपटक भित्र्याएको दावी गरिएको सुनामीले दर्शकहरूमा कत्तिको सुनामी ल्याउँछ त्यो भने हेर्न बाँकी छ । यस्तै आयोजकले महोत्सव प्रवेशमा बिहान ११ बजेसम्म निशुल्क प्रवेशको व्यवस्था मिलाएपछि पनि दर्शक बढेका छन् । महोत्सवमा आउने दर्शकहरूलाइ विभिन्न किसिमका सुविधा दिएको आयोजकले प्रवेश पास समेत निशुल्क व्यवस्था मिलाएको हो । यस्तै महोत्सवमा जेष्ठ नागरिक तथा १० वर्ष मुनिका बच्चालाई समेत निशुल्क गरिएको महोत्सवका सहनिर्देशक राजेन्द्र पियाले बताए । यस्तै महोत्सव उद्घाटनका दिन व्यानर लिएर आउने आमा समूह लगायतका संघसंस्थाका प्रत्येक टिमलाई १० वटा आसपासका पास पनि निशुल्क छुट्याइएको पियाले जानकारी दिए ।
महोत्सवमा थप मनोरञ्जन दिन आयोजकले चुँदि खोलामा ताल बनाएर एकसय रूपयाँमा डुङ्गा चढ्ने व्यवस्था समेत मिलाएको छ । हिमालयन रिभर अपरेटर कम्पनीको दुईवटा डुङ्गा दर्शकहरूको लागि राखिएको छ । डुङ्गामा चढ्नेहरू सँग प्रतिव्यक्ति एकसय रूपयाँ लाग्ने हिमालयन रिभरका सन्त लामाले बताए । महोत्सवमा डुङ्गामा मनोरञ्जन गर्न पाइने भए पछि दर्शकहरू त्यसतर्फ आकर्षित हुन थालेका छन् ।

यस्तै महोत्सवमा बन्दिपुर केवलकारमा छुट , रेष्टुराँमा छुट , एनटिसिको सिमकार्ड फ्री लगायतका सुविधा हरू समेत व्यवस्था मिलाइएको छ । दर्शकहरूको सेवा सुविधालाई ध्यानमा राखी सिम फ्री मा दिन थालिएको महोत्सवका प्रवक्ता सुवोध अधिकारीले बताए । यस्तै महोत्सवमा टिकट काट्नेले बन्दिपुर केवुलकारमा समेत विभिन्न छुट पाउने भएका छन् । महोत्सवको टिकटमा बन्दिपुर केवलकार जान ३५ प्रतिशत छुटको व्यवस्था गरिएको छ । यस्तै रेष्टुराँमा १५ प्रतिशत , स्काइलिङ , जिपल्याण्डमा २५ प्रतिशत छुटको व्यवस्था गरिएको छ ।

व्यापारिक, सांस्कृतिक, पर्यटकीय विकासको नारा, डुम्रे महोत्सवको अभिभारा ” भन्ने मुख्य नारा सहित बुधबारबाट सुरु भएको महोत्सव भानु नगरपालिका वडा नं १ को पुल्चोकमा भइरहेको छ ।

तनहुँ उद्योग वाणिज्य संघ, डुम्रे बजार इकाइको आयोजनामा भएको महोत्सवले यस क्षेत्रका आर्थिक, सामाजिक, सांस्कृतिक र पर्यटन प्रवर्द्धनमा योगदान पुर्‍याउने लक्ष्य राखिएको छ । तनहुँ उद्योग वाणिज्य संघ डुम्रे बजार इकाईका अध्यक्ष हेमलाल भिकेले महोत्सवले यस क्षेत्रको समग्र विकासमा टेवा पुग्ने विश्वास व्यक्त गरे । महोत्सवमा स्थानीय उत्पादन, व्यापारिक स्टल, सांस्कृतिक कार्यक्रम, पर्यटकीय गतिविधि र मनोरञ्जनात्मक कार्यक्रमहरू प्रस्तुत गरिने आयोजकले जनाएको छ। महोत्सवले क्षेत्रीय पहिचानलाई अझ सुदृढ गर्दै आर्थिक गतिशीलता बढाउने अपेक्षा गरिएको छ ।

महोत्सवमा याम्पाको ताजा तरकारी र दुधका ताजा परिकारहरू राखिएको छ। दुधका परिकार र ताजा तरकारी राख्ने गरि कृषकहरूलाई आयोजकले निशुल्क स्टल दिए पछि दर्शक एवम् ग्राहकले उक्त सुविधाको लाभ लिएका छन् । याम्पा दूध र तरकारीको हब हो , त्यहाँका उत्पादनलाई बजारीकरण गर्न महोत्सवले सघाउने गरि व्यवस्थापन मिलाएका छौँ महोत्सवका प्रवक्ता सुवोध अधिकारीले भने ।

यस्तै महोत्सवमा बाख्राको चिज समेत ग्राहकलाई निशुल्क खान व्यवस्था गरिएको महोत्सव स्टल समिति संयोजक राम जोशीेले बताए ।