तनहुँको शुक्लागण्डकी नगरपालिकाका मेयर कृष्णराज पण्डितले ब्यवसायिक कृषि पेशा समेत सुरु गर्नुभएको छ । मेयर पण्डितले जिल्लाकै म्याग्दे गाउँपालिका ४ मा १० रोपनीभन्दा धेरै जमिनमा कागजी खेति गर्नुभएको छ । ब्यस्तताका विच समेत हरेक विहान कागतीको गोलमेल र रेखदेखका लागि केही समय छुट्याएर बारीमा पुग्ने मेयर पण्डितले स्वास्थ्यका लागि समेत विहान चाडो उठेर विरुवाको गोडमेल गर्न उपयुक्त लाग्ने बताउनुभयो ।
हाल एक हजारभन्दा बढी कागतीका विरुवाले फल दिन सुरु गरेको उहाँको भनाई छ । घरायसी प्रयोगका लागि प्रशस्तै पुग्ने भएपनि आगामी बर्षबाट ब्यवसायिकरुपमा उत्पादन हुने उहाँले विस्वास ब्यक्त गर्नुभयो । ‘आगामी बर्षबाट बजार पठाउने गरि हजारौ किलो उत्पादन हुनेछ’ उहाँले भन्नुभयो, ‘एक सिजनलमा १५– २० हजार किलो कागती उत्पादन हुन्छ ।’ भुगोल र माटो सुहाउदो खेति कागतीलाई बादर लगायतका जंगली जनावरले समेत कम क्षति गर्ने भएकाले बाँझिएको जमिनमा यो खेति सुरु गरेको पण्डितले बताउनुभयो ।
पृथ्वीराजमार्गबाट केही मिनेटको दुरीमै रहेको जमिनमा जनप्रतिनिधी भएको ब्यक्तीले कागजी खेति गरेपछि अन्यलाई समेत यस प्रतिको चासो बढेर गएको छ । सामान्यतया कोदो मकै लगायतका खाद्यान्न लगाउदाँ जंगली जनावरले नोक्सान गर्नेभन्दै बाँझो बसेको बारीहरुमा अन्यले समेत कागती खेती सुरु गर्न थालेको स्थानीय हेमकुमार कायस्थले बताउनुभयो । उहाँले समाजका अगुवाई गर्ने ब्यक्तिहरुले कृषिमा चासो दिएर संलग्न हुने हो भने कृषि पेशाप्रतिको दृष्टिकोण नै सम्मानित बन्ने बताउनुभयो ।
नेपाली काँग्रेसकै नेता बालकृष्ण पौडेलले पण्डितको जस्तै अन्य जनप्रतिनिधीहरुको देखिने गरि कुनै पेशा ब्यवसाय हुनुपर्नेमा जोड दिनुभयो । खेति गर्ने संस्कृति लोप हुदै जान थालेको अवस्थामा नगर प्रमुखको काम उदाहरणीय भएको पौडेलको बुझाई छ । ‘गाउँघरमा बाँझिएका जमिनमा केही गर्न सकिन्छ है भन्ने आशा मेयरको प्रयासले जगाएको जस्तो लाग्यो ।’ उहाँले भन्नुभयो । जनप्रतिनिधीहरु मार्गदर्शक बन्ने हो भने जनस्तरमा केही गर्न सकिन्छ भन्ने हौसला बढेर आउने पौडेलको बुझाई छ ।
बजार माग उच्च रहेको कागजी खेतिसँग अव पुख्यौली जमिनमा ब्यवसायिक रुपमा मेवा खेति गर्ने तयारी समत मेयर पण्डितको रहेको छ । उहाँले आम्दानीसँगै कृषिको विकास, स्थानीयलाई रोजगारीको अवसर र बाँझिएका जमिनको उपयोगमा सहयोग पुग्ने सोच सहित लागि परेको बताउनुभयो ।