तनहुँको शुक्लागण्डकी नगरपालिकाले आफ्नै बजेटमा पुल निर्माण गरेर नागरिकको बर्षौ देखिको प्रतिक्षा र दबाबलाई पुरा गरिदिएको छ । नगरपालिकाको कटहरे स्थित बाङ्गेखोलामा पुल बनेपछि यस क्षेत्रका नागरिकको बर्षौदेखिको सपना पुरा भएको हो । बर्षेनी बढेर आउने बाङ्गे खोलाकै कारण खोला तरेर विद्यालय जान नपाएका विद्यार्थी र विरामी हुदाँसमेत जोखिम मोलेर खोला तर्नुपर्ने समस्या पुल बनेसँगै सधैका लागि समाधान भएको छ ।
शुक्लागण्डकी नगरपालिका वडा न ८ र १० लाई जोड्ने गरि नगरपालिकाले खोलामा पुल निर्माण गरिदिएपछि स्थानीयमा खुशीको सिमाना छैन । ‘अव हाम्रो बच्चाहरु खोला बढ्दा पनि स्कुल जान पाउने भए’, स्थानीय दिप नेपालीले भन्नुभयो ‘विरामी हुदाँ चाँडै अस्पताल जान पाइने भयो ।’ नेपालीले वडा र नगरपालिकाका प्रतिनिधीलाई पुलकै अभावमा आफुहरुले भोगेको समस्या बारम्बार जानकारी गराएपछि समाधान भएको जानकारी दिनुभयो ।
पुल निर्माणपछि शुक्लागण्डकी १० को कुखुरे, कटहरे, लहरे, पातिस्वाँरा, सिम्ले र मिनामखानीका सयौँ जनताले सहज सुविधा प्राप्त गर्ने वडाध्यक्ष राजेन्द्र भट्टराई क्षेत्रीले जानकारी दिनुभयो । वडाध्यक्ष भट्टराईले वडाको सवैभन्दा महत्वपूर्ण योजना पुरा भएको बताउनुभयो ।
नागरिकको समस्यालाई सम्बोधन गर्न तदारुकता देखाएको नगरपालिकाले छोटो समयमा नै पुल निर्माण गरिदिएको भन्दै स्थानीय हिमा भुजेलले खुशी ब्यक्त गर्नुभयो । उहाँले पुल शिलान्यास भएको दुई महिना नवित्दै निर्माण भएको जानकारी दिदै बर्षौदेखिको माग पुरा भएको बताउनुभयो ।
बाङ्गे खोलामा निर्माण भएको पुलको निरिक्षण गर्न पुग्नुभएकाले शुक्लागण्डकी नगरपालिकाका मेयर कृष्णराज पण्डितले नागरिकको चाहाना र आवश्यकताको आधारमा नगरमा पूर्वाधार विकास गरिएको बताउनुभयो । निर्वाचनको बेलामा जनतासँग गरेको प्रतिवद्धताहरुलाई क्रमैसँग पुरा गर्ने अभियानमा रहेको दावि गर्दै मेयर पण्डितले विकासको मुलप्रवाहबाट पछि परेको नगरबासीको आवश्यकतालाई प्राथमिकता दिएर काम गर्ने लक्ष्य राखिएको समेत बताउनुभयो ।
झण्डै २० मिटर लम्वाईको पुल नगरपालिकाको २५ लाख बजेटमा लिभिक कन्ट्रक्सनले निर्माण गरेको शुक्लागण्डकी नगरपालिकाले जनाएको छ ।