तनहुँको घिरिङ गाउँपालिकामा वन डढेलो नियन्त्रण सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। बिहिवार गाउँपालिका अन्तर्गतका वन उपभोक्ता समितिका प्रतिनिधिहरुलाई जनचेतनामुलक भिडियो प्रदर्शन सहित अन्तरक्रिया गरिएको थियो।

डिभिजन वन कार्यालय तनहुँ र घिरिङ गाउँपालिकाको आयोजना तथा जिल्ला प्रसासन कार्यालय तनहुँको सहजीकरणमा संचलान भएको सो कार्यक्रममा तनहुँका डिभिजन बन अधिकृत नर बहादुर क्षेत्रीले वन डढेलो रोकथाम, नियन्त्रण तथा वन संरक्षणको विषयमा सहभागिहरुलाई प्रशिक्षण दिएका थिए।

साथै वन डढेलो रोकथाम तथा नियन्त्रणका लागि आवस्यक पर्ने सामाग्रिहरुको बारेमा जानकारी सहितको प्रशिक्षण दिइएको थियो । यस्तै ईलाका प्रहरी कार्यालय बेलचौताराका प्रमुख प्रहरी निरीक्षक पोषण थापाले आगलागी सम्बन्धी हुने कानुनी प्राबधान र विभिन्न घटना बारे प्रष्ट्याएका थिए।

डिभिजन वन कार्यालय तनहुँका प्रमुख शरद कुमार अधिकारीको अध्यक्षतामा भएको सो कार्यक्रममा गाउँपालिका अध्यक्ष होम बहादुर थापाले वन संरक्षण गर्नु सबैको दायित्व रहेको बताए, घिरिङमा आगलागी नियन्त्रणको लागि सेनाले कहिल्यै चासो नदिएको गुनासो राख्दैन अझ बढी वनको निगरानी गर्न वन कार्यालयलाई सुझाब दिए। कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी जित बहादुर भण्डारि, खैरेनीटार ब्यारेकका सेना अमल्दार मनोज अधिकारी लगायतले वन संरक्षणमा आ९आफ्नो तह बाट सहयोग गर्ने प्रतिबद्धता गरे।

सहभागीहरुले अन्तरक्रियामा जंगलको बिच– बिचमा अव्यवस्थित रहेका बिधुतिय तारको ब्यवस्थापन गर्न,बाँदर नियन्त्रण, राष्ट्रिय बनलाई सामुदायिक वनमा हस्तान्तरण गर्न, स्थानीय तहमा सामुदायिक वन ऐन बनाउनु पर्ने जस्ता सुझाबहरु दिएका थिए। सो कार्यक्रमको संचालन वन अधिकृत चुडामणिा बरालले गरेका थिए भने स्वागत मन्तब्य प्रमुख प्रशासकिय अधिकृत कृष्ण प्रसाद ढकालले गरेका थिए।