कोटहीमाई गाउँपालिका– ५ देवनबक्सापुरका रामायन पालले विगत २० वर्षदेखि भेडा पालन गर्दै आएका छन् । उनको अधिकांश समय घर बाहिर नै बित्ने गरेको छ । भेडा चराउन पाल मर्चवार मात्र नभई भैरहवा, लुम्बिनीलगायत क्षेत्रमा लैजान्छन्। करिब तीन सय भेडाबाट सुरु भएको ‘भेडिहार’ पालको यो यात्रामा बिराम लाग्ने अवस्था उत्पन्न भएको छ । हाल उनीसँग ३५ वटा मात्र भेडा छन् । यसअघि चरन क्षेत्रको समस्या थियो नै अब भेडाको ऊन नै बिक्री हुन छाडेपछि पाल मात्र होइन भेडिहार समुदायको पेसा नै लोप हुने अवस्था छ ।
मर्चवारको मुख्य बाटोमा भेडाको रौँ काटेर यत्रतत्र फालिएको भेटिन्छ । भेडाको ऊन बिक्री हुन छोडेपछि भेडिहारले जहा रौँ काट्यो त्यही छोडेर हिँड्ने गरेका छन् । ऊन नै बिक्री हुन छोडेपछि विस्तारै उनीहरुको रुचि यसबाट घट्न थालेको छ । “पहिला मसँग तीन सय बढी भेडा थिए, ऊन पनि एक सय किलोभन्दा बढी बेच्ने गरेको थिएँ ।” पालले भने, “केही वर्षयता ऊन बिक्नै छोडेको छ । त्यसैले अहिले सङ्ख्या घटाएर ३५ मात्र पालेको छु ।”
यसअघि विभिन्न स्थानबाट क्रेताहरु भेडिहार खोज्दै उनीहरुको घर वा चरनस्थलमै पुग्ने गरेका थिए । तराईमा सामान्यतः भेडाको मासु पनि खाइँदैन । त्यसैले भेडा पाल्नेको अब आम्दानीको स्रोत शून्य भएको छ । भेडाको ऊनबाट बनेका कपडामा उपभोक्ताको रुचि घट्दै गएको कारण ऊन बिक्री नभएको कोटहीमाई गाउँपालिका–३ कुडसर बस्ने वरुनदेव पाल बताउछन् । “पहिला भेडाको ऊनबाट बनेको कपडाको माग उच्च रहेको थियो र यस पेसाबाट धानिन बल पुगेको थियो ।” उनले भने, “अहिले त्यस्ता उद्योग बन्द हुँदै गएकाले पनि यसको माग नभएको हुन सक्छ ।”