व्यास नगरपालिकामा तीन दिवसीय “खुल्ला व्यास नगर बहुजातीय सांस्कृतिक महोत्सव” हुने भएको छ। आइतबार पत्रकार सम्मेलन गर्दै अगामी फागुन ७ देखि ९ गतेसम्म महोत्सव सञ्चालन हुने जनाकारी गराइएको छ । व्यास नगरपालिकाको आयोजना र व्यास नगर प्रज्ञा प्रतिष्ठानको संयोजन उक्त महोत्सव हुन लागेको हो ।

व्यास नगर भित्र बसोबास गर्ने विभिन्न जातीय कला, संस्कृतिको पहिचान, संरक्षण र प्रवद्र्धन गर्ने उद्देश्यले सो महोत्सव आयोजना गरेको व्यास नगरपालिका प्रमुख बैकुण्ठ न्यौपानेले बताउनुभयो । उहाँका अनुसार नगर भित्रका २९ भन्दा बढी जातजातिको कला–संस्कृति प्रदर्शन गरिनेछ ।

व्यास नगर प्रज्ञा प्रतिष्ठानका उपकुलपति काशीनाथ न्यौपानेले नगरभित्र रहेका ऐतिहासिक, पुरातात्त्विक र पौराणिक सम्पदाहरूको संरक्षण गर्ने योजना रहेको बताउनुभयो ।व्यास नगर प्रज्ञा प्रतिष्ठानका सदस्य देवीबहादुर बस्नेतले अहिलेको समय नेपाली पहिचानलाई झल्काउने विभिन्न परम्परा, कला र संस्कृति संरक्षण हराउदै गएकाले यसलाई संरक्षण र प्रवद्र्धन गर्नुपर्ने भएकाले महोत्सव आयोजना गरेको बताउनुभयो ।

सो महोत्सवमा आफ्नो जातीय कला, संस्कृति प्रर्दशन गर्न समुहलाई रु १० हजार प्रदान गरिने कलाकार व्यवस्थापन उपसमितिका संयोजक मेघनाथ रिमालले बताउनुभयो । उहाँका अनुसार झाँकी प्रदर्शनमा भने प्रथम, द्वितीय र तृतीय छुट्इने छ । झाँकी प्रदर्शनमा प्रथम पुरस्कार रु १० हजार, द्वितीय पुरस्कार रु ७ हजार र तृतीय पुरस्कार रु५ हजार नगद प्रदान गरिने रिमाले जनाकारी दिनुभयो । उक्त महोत्सवमा मूर्तिकला, ललितकला, चित्रकला लगायतका कलाहरूको प्रदर्शनी समेत गरिनेछ।