आजदेखि शुक्लागण्डकी नगरपालिकामा एचपिभी खोप अभियान सञ्चालन गरिने भएको छ । आगामी ३० गतेसम्म सञ्चालन गरिने अभियानमा नगरपालिका क्षेत्र भित्र रहेका २७ सय बढी बालिकालाई खोप लगाइने शुक्लागण्डकी नगरपालिकाको स्वास्थ्य शाखाले जानकारी दिएको छ । पाठेघरको मुखमा हुने क्यान्सर विरुद्धको खोप विद्यालयमा अध्ययनरत दुई हजार ५९१ र विद्यालय नजाने ११५ जनालाई खोप लगाइने तयारी रहेको शाखाले जनाएको छ ।
खोप अभियानको शुभारम्भ गर्दै शुक्लागण्डकी नगरपालिकाका मेयर कृष्णराज पण्डितले ढुक्क भएर यो खोप लगाउन अनुरोध गर्नुभएको छ । खैरेनीटार स्वास्थ्य चौकीकी प्रमुख दुर्गा अधिकारलाई खोप सहितको बाकस हस्तान्तरण गर्दै मेयर पण्डितले खोप लगाउदा असर पर्छ भन्ने मिथ्या कुराका पछि नपरी आफ्ना छोरीहरुलाई अभियानमा सहभागि गराउन अविभावकहरुलाई समेत आग्रह गर्नुभएको छ ।
कक्षा ६ देखि १० सम्म अध्ययनरत विद्यालय जाने र १० देखि १४ वर्षसम्मका विद्यालय नजाने बालिकालाई पाठेघरको मुखको क्यान्सरविरुद्धको एचपिभी खोप लगाइने स्वास्थ्य शाखाका प्रमुख ढालबहादुर थापाले जानकारी दिनुभयो । उहाँले आईतबार खैरेनीटार स्वास्थ्य चौकीमा विहान १० बजे नगरपालिकाका प्रमुख कृष्णराज पण्डितले खोप सहितका सामाग्री हस्तान्तरण गरेर अभियान सुरु गरिएको बताउनुभयो । खोप अभियान सञ्चालनका लागि शुक्लागण्डकीका १२ वटा वडामा ३२ केन्द्र तोकिएको छ भने प्रत्येक केन्द्रमा एक जना स्वास्थ्य स्वयंसेविका, एक जना शिक्षिका र एक जना स्वास्थ्यकर्मी खटिनेछन् ।
सरकारले देशैभर पाठेघरको मुखको क्यान्सर बनाउने ह्युमन प्यापिलोमा ९एचपिभी० भाइरस विरुद्धका खोप अभियान सञ्चालन गरिरहेको छ ।
विभिन्न अध्ययनका अनुसार एचपिभी खोपको प्रभावकारीता शतप्रतिशतसम्म रहेको छ । सरकारले आगमी वर्ष देखि कक्षा ६ का छात्रा र विद्यालय बाहिर रहेका १० वर्षका किशोरीलाई नियमित खोप मार्फत मार्फत दिने निर्णय गरेको छ । विश्व क्यान्सर दिवसको अवसर पारेर गत २२ गतेदेखि सुरु भएको खोप अभियान तनहुँका पाँच पालिकाहरु ब्यास, भानु, देवघाट, आँबखैरेनी र बन्दिपुरमा सम्पन्न सम्पन्न भईसकेको छ भने दोस्रो चरणमा शुक्लागण्डकी नगरपालिका सहित भिमाद, ऋषिङ्ग, घिरिङ्ग र म्याग्दे गाउँपालिकामा आइतबारबाट सुरु भएको जनस्वास्थ्य कार्यालय तनहुँले जनाएको छ ।