शुक्लागण्डकीका महिलाहरुले खेर गईरहेका केराका थम्वाबाट रेशा निकालेर आकर्षक घरेलु सामाग्री बनाउन सिकेका छन् । सामाजिक विकास कार्यालय तनहुँले जेष्ठ नागरिकहरुमा सिमित रहेको सिप नयाँ पुस्तामा हस्तान्तरण गर्न आयोजना गरेको तालिम मार्फत महिलाहरुले घरायसी सामाग्रीहरु बनाउने सिप सिकेका हुन् । महिला उद्यमी संघ नेपाल शुक्लागण्डकीको समवन्यमा गत हप्तादेखि आयोजित तालिममा महिलाहरुले केराको थम्वाबाट रेशा निकालेर ढकिया, चकडी, फुलदानी र सजावटका सामाग्रीहरु बनाउन सिकेका थिए ।


सात दिनसम्म शुक्लागण्डकी नगरपालिका स्थित च्यवनधाम परिसरमा आयोजना गरिएको तालिममा सहभागि भएका ११ प्रशिक्षार्थीहरुलाई शनिबार प्रमाणपत्र दिदै कार्यालयका प्रमुख विदुरहरी आचार्यले नयाँ पुस्ता परम्परागत सिप सिक्नबाट बञ्चित नहुन् भन्ने उदेश्यले तालिम सञ्चालन गरिएको बताउनुभयो । उहाँले तालिमले महिलाहरुको आयआर्जनमा सहयोग पु¥याउने विस्वास ब्यक्त गर्दै सिप पुस्तान्तरण गर्न तालिम महत्वपूर्ण भएको दावि गर्नुभयो ।
कार्यक्रममा शुक्लागण्डकी नगरपालिका – २ का वडाध्यक्ष सुमनबहादुर राना र प्रशिक्षक उमा अमगाईले तालिमलाई ब्यवहारिक जीवनमा प्रयोग गर्नुपर्नेमा जोड दिनुभयो । उहाँहरुले महिलाहरुले सिप सिकेर आम्दानीसँग जोडिन सके परनिर्भरता कम हुदै जाने बताएका थिए । तालिम समापनको अवसरमा महिलाले सिकेका सिपमा आधारित सामाग्री प्रदर्शन गरेका थिए । कार्यक्रमको सञ्चालन संघकी अध्यक्ष तुल्सीकुमारी शाहले सञ्चालन गर्नुभएको थियो ।