तनहुँमा उत्कृष्ट बाख्रा पालक किसानलाई नगदसहित सम्मान गरिएको छ । तनहुँको भानु नगरपालिका, राष्ट्रिय बाखा अनुसन्धान कार्यक्रम बन्दीपुर, भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र दमौली, बरभन्ज्याङ बाख्रा पालन समूह र नेपाल व्यावसायिक बाख्रापालक महासङ्घको संयुक्त आयोजनामा चौंथो राष्ट्रिय बाख्रा दिवसको अवसरमा सम्मान गरिएको हो । स्थानीय जाततर्फ प्रतियोगितामा भानु नगरपालिका –५ का चोपकान्त पोख्रेल प्रथम हुँदै नगद १० हजारसहित सम्मान पाउनुभयो । उन्नत जाततर्फ भानु नगरपालिका –९ का मान सिंहगुरुङले पनि प्रथम भई नगद १० हजारसहित सम्मानित हुनुभयो । स्थानीय तर्फ बिमला अधिकारी र उन्नततर्फ काजी थापा द्वितीय हुनुभयो । स्थानीयतर्फ रोमनबावु अधिकारी र उन्नततर्फ रामबहादुर गुरूङ तेस्रो हुनुभयो । स्थानीयतर्फ काजीराम अधिकारी र उन्नततर्फ तिलकुमारी अधिकारी सान्त्वना हुनुभयो । स्थानीय र उन्नतमा प्रथम, द्वितीय, तृतीय र सान्त्वना हुनेलाई क्रमशः जनही १० हजार, आठ हजार, छ हजार र चार हजार नगदसहित सम्मान गरिएको थियो । उत्कृष्ट किसानलाई भानु नगरपालिकाको प्रमुख आनन्दराज त्रिपाठी, उपप्रमुख उमा गोतामे, राष्ट्रिय बाख्रा अनुसन्धान कार्यक्रम बन्दीपुरका प्रमुख राजु कँडेल, नेपाल व्यावसायिक बाख्रापालक महासङ्घका केन्द्रीय अध्यक्ष गोविन्दप्रसाद सुवेदी, महासचिव तारानाथ पौडेल, गण्डकी प्रदेशका अध्यक्ष यामप्रसाद आचार्य लगायतले शुक्रबार संयुक्त रुपमा सम्मानपत्र तथा नगद प्रदान गर्नुभयो ।
