तनहुँको भानुमा स्थानीय तथा उन्नत बोका प्रदर्शनी सुरु भएको छ । ‘पोषिलो आहार , बाख्रा पालनमा गुणस्तर सुधार’ भन्ने नाराका साथ भानु ५ को स्याउली पसलमा राष्ट्रिय बाख्रा दिवसको अवसरमा शुक्रबार प्रदर्शनी सुरु गरिएको हो । सो कार्यक्रम भानु नगरपालिका पशुपंछी तथा मत्स्य विकास शाखा, राष्ट्रिय बाख्रा अनुसन्धान कार्यक्रम बन्दीपुर, भेटेनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र तनहुँ, बरभञ्ज्याङ बाख्रा पालक समूह र नेपाल व्यावसायिक बाख्रा पालक महासङ्घको संयुक्त आयोजनामा गरिएको हो । प्रदर्शनीमा प्रथम हुने बोका धनीलाई स्थानीय जात तर्फ १० हजार, उन्नत जाततर्फ १० हजार र द्वितीय हुनेलाई ८ हजार, तृतीय हुनेलाई ६ हजार र सान्त्वना हुनेलाई ४ हजार रुपियाँ पुरस्कारको व्यवस्था गरिएको भानु नगरपालिकाकाले जनाएको छ।
