तनहुँको सदरमुकाम दमौलीमा आजबाट नवौं तनहुँ कृषि पर्यटन तथा प्रविधि महोत्सव सुरु भएको छ । महोत्सवको उद्घाटन उपप्रधान एवम् सहरी विकास मन्त्री प्रकाशमान सिंहले गर्नुभएको छ । सो अवसरम बोल्दै सिंहले संस्कृति र पर्यटन क्षेत्रको प्रवर्द्धनका लागि सबै एकजुट हुनुपर्ने बताउनुभएको छ । नेपाल सुन्दर देश र संस्कृतिको धनी भएकाले पर्यटकलाई आकर्षित गरी रोजगारी सिर्जना गर्न सकिने हुँदा सबै मिलेर प्रवर्द्धन गर्नुपर्ने बताउनुभयो । नेपाल सरकारले पर्यटकीय क्षेत्रको प्रवर्द्धन र विकासका लागि वर्तमान सरकार जुटिरहेको उल्लेख गर्नुभयो ।
कार्यक्रममा गण्डकी प्रदेश सभा सदस्य अशोककुमार श्रेष्ठ, जिल्ला समन्वय समितिका प्रमुख शान्तिरमण वाग्ले, व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपाने, महोत्सवका निर्देशक पविन्त्रकुमार श्रेष्ठ, तनहुँ उद्योग वाणिज्य सङ्घका वरिष्ठ उपाध्यक्ष इमकुमार मल्ल, महासचिव सुवोध अधिकारी लगायतले कृषि उपज र व्यापारिक सामग्री खरिद बिक्री एवम् संस्कृतिको संरक्षणका लागि महोत्सव फलदायी हुने हुँदा यस्ता महोत्सवलाई निरन्तरता दिनुपर्नेमा जोड दिनुभएको थियो । महोत्सवमा उद्घाटनको दिन विभिन्न जातजातिका सांस्कृतिक झाँकी प्रदर्शन गरिएको छ ।महोत्सवमा दुई सय वटा स्टलहरू रहेका छन् भने सो महोत्सव अगामी माघ ७ गते सम्म संचालन हुनेछ ।