बुद्धसिंह मार्गमा पर्ने पाँच वटा पुलको निर्माण कार्यलाई गति दिन स्थानीय समुदायले दवाव दिएका छन् ।बुधबार बन्दिपुर गाउँपालिका वडा नम्बर ६ स्थित सिद्धबाबा बाबा समूहको भवनमा भेला भएका स्थानीय बासिन्दाहरुले बुद्धसिंह मार्गको विभिन्न स्थानमा बन्दै गरेको वा बन्ने प्रक्रियामा रहेको पाँच वटा मोटरेवल पुलको निर्माण कार्यलाई गति दिन माग गरेका छन् ।उक्त मार्गमा रहेका नदी खोलामा पुल निर्माणकोलागि दवाव दिन स्थानीय स्तरबाट गठित संघर्ष समितिका संयोजक सिद्धान्त गर्जा मगरले राज्यको उदासिनता र ठेकेदारको लापरवाहीको कारण घुमाउनेमा निर्माणाधिन पुल ११ वर्षदेखी अलपत्र रहेको बताए । उनले घुमाउने पुल सहित सुँढेखोला पुल, ढाँडखोला पुल, खानी खोला पुल, बगर खोला पुल र भुतखोला पुलको निर्माणमा ढिलासुस्ती भएको हुँदा अव उक्त ढिलासुस्ती अन्त्य गर्न स्थानीय जनताले दवाव दिने बताए ।
उक्त कार्यक्रममा संघर्ष समितिका संयोजक गर्जा मगरले ग्रामिण क्षेत्रका सर्वसाधण जनतालाई जे गरेपनि हुन्छ भन्ने मानसिकताले निर्माण कार्यमा ढिलाइ भईरहेको बताए । उनले जनजातिहरुको बस्ती रहेको स्थानमा विकास निर्माणको काममा ढिलाई भईरहेको बताए । तनहुँ जिल्लाको यस विकट भेगबाट ठूलाठूला ओहोदाका नेताहरू पाए तर जनताले प्रत्यक्ष अनुभूति हुने गरी विकास अहिलेसम्म पाउन उनले नसकेको बताए । उनले पुल निर्माणकोलागि दवाव दिन आगामी पुस २७ गते घुमाउने पुल निर्माण स्थानमा हजारौं स्थानीय जनताको दवाव भेला आयोजना गरिने बताए ।