जिल्लामै पहिलो पटक ह्विलचियर बास्केटबल प्रतियोगिता सम्पन्न भएको छ । सहृदयी मञ्च तनहुँको आयोजना र व्यास नगरपालिकाको सहयोगमा शनिवार दमौलीमा व्यास नगर मैत्रीपूर्ण ह्विलचियर बास्केटबल प्रतियोगिता आयोजना गरिएको हो । अपाङ्गता भएका व्यक्तिहरुबीच मैत्रीपूर्ण बास्केटबल प्रतियोगिता आयोजना गरिएको मञ्चका अध्यक्ष सावित्री सुवेदीले जानकारी दिइन् । उनले भनिन्, “समाजमा अझै पनि अपाङ्गता भएका व्यक्तिहरुले खेल खेल्न सक्दैनन् भन्ने सोचाइ विद्यमान छ । त्यो सोचलाई हटाउनका लागि पहिलो पटक बास्केटबल प्रतियोगिता आयोजना गरेका छौ ।” व्यास नगरपालिका–३ स्थित बास्केटबल कोर्टमा सञ्चालन गरिएको सो मैत्रीपूर्ण बास्केटबल प्रतियोगितामा व्यास र पराशर समूहको सहभागितामा रहेकामा व्यास समूह विजयी भएको छ । प्रतियोगितामा व्यास समूहले १२ र पराशर समूहले आठ अङ्क प्राप्त गरेको थियो ।
यस अघि सो प्रतियोगिता उद्घाटन कार्यक्रममा व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपानेले नगरपालिकाले खेलकुदलाई प्राथमिकतामा राखेको बताए । अपाङ्गता भएका व्यक्तिहरु खेल्न सक्दैनन् भन्ने आम सोचाइ चिर्नका लागि यस्ता कार्यक्रमले सहयोग पुग्ने न्यौपानेले बताए । त्यस्तै कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी जितबहादुर भण्डारी, व्यास नगरपालिका–६ का वडाध्यक्ष एवं व्यास नगर खेलकुद विकास समितिका अध्यक्ष जीवन गुरुङ, अपाङ्गता अधिकारकर्मी मदन पौडेल लगायतले अपाङ्गता भएका व्यक्तिले खेल्न सक्दैनन् भन्ने मानसिकता चिर्नुपर्नेमा जोड दिएका थिए ।