मकवानपुर जिल्ला शाखाको अध्यक्ष पदमा समृद्ध समाज दैनिकका सम्पादक सुरेश श्रेष्ठले उम्मेदवारी घोषणा गर्नुभएको छ । सम्पादक श्रेष्ठले यही मंसीर २८ गतेका लागि तय भएको महासंघको निर्वाचनमा अध्यक्ष पदको उम्मेदवारी घोषणा गर्नुभएको हो ।
पटक–पटक मिति तय गरेर निर्वाचन हुन नसकेको सन्दर्भमा यसपटक निर्वाचनको वातावरण बन्दै गएकोले उम्मेदवारी घोषणा गरिएको सम्पादक श्रेष्ठको भनाइ छ । हेटौँडाबाट प्रसारण हुँदै आएको सामुदायिक रेडियो, रेडियो निकास ९३.४ मेगाहर्जको स्टेशन म्यानेजर समेत रहनुभएका श्रेष्ठले महासंघको संस्थागत विकास, जिल्लामा सञ्चालित सञ्चार माध्यमहरुको व्यावसायिक अभ्यास, श्रमजीवी सञ्चारकर्मीको हकहित, सीप, दक्षता अभिवृद्धिका लागि महासंघमार्फत काम गर्ने योजनासहित उम्मेदवारी घोषणा गरेको बताउनुभएको छ ।
हेटौँडा स्थित मकवानपुर बहुमुखी क्याम्पसमा पत्रकारिता तथा आमसञ्चार विषयका सहायक प्राध्यापक श्रेष्ठले नेपाली समाजको समग्र क्षेत्रमा नकारात्मक अवस्था रहीरहेका बेला सञ्चार क्षेत्रले समाजका सबै क्षेत्रलाई सकारात्मक मार्गमा अभिप्रेरित गर्न सक्ने र मिडियाको व्यावसायिक अभ्यासमा उपयुक्त योजनासहित काम गर्ने योजना रहेको स्पष्ट पार्नुभयो । ‘हामीले सञ्चार माध्यमको संख्यात्मक विकासमा मात्रै ध्यान दियौं । गुणात्मक विकासका लागि नेपाल पत्रकार महासंघमार्फत प्रभावकारी योजना कार्यान्वयन गरेर श्रमजीवी पत्रकार, सञ्चारगृहलाई सशक्त बनाउने र समाजले गुणस्तरीय र विश्वसनीय सूचना प्राप्त गर्ने अवस्थाको सुनिश्चितता जरुरी रहेको औँल्याउनुभयो ।
‘सञ्चार माध्यमको संख्यासँगै गुण अभिवृद्धिमा पनि काम गर्न सक्नुपर्ने थियो । त्यसो हुन नसक्दा यतिबेला सञ्चारगृहहरु धरासायी भएका छन्’, श्रेष्ठले भन्नुभयो, ‘अहिले पनि सञ्चारगृहको गुणात्मक विकास गर्दै श्रमजीवी सञ्चारकर्मीको पेशागत हित र व्यावसायिक भविष्य सुनिश्चित गर्न महासंघमार्फत उपयुक्त काम गर्न सकिन्छ । त्यसकै लागि मेरो उम्मेदवारी हो ।’ स्वतन्त्र पत्रकार संघको केन्द्रीय समिति उपमहासचिव समेत रहनुभएका श्रेष्ठले सबैको साथ, सहयोग प्राप्त हुने विश्वास व्यक्त गर्नुभयो । ‘सञ्चारगृह सवल बन्ने÷बनाउने सन्दर्भमा सञ्चारगृहका सञ्चालक र सञ्चारकर्मीबीच मतभेद, अविश्वासका कारण सञ्चारगृह र सञ्चारकर्मी दुबै दूर्वल अवस्थामा छ’, सम्पादक श्रेष्ठले भन्नुभयो, ‘यतिबेला सञ्चार माध्यममार्फत प्रकाशन, प्रसारण हुने सूचनामाथि आम नागरिकको अविश्वास छ । आगामी दिनमा सञ्चारमाध्यमबाट प्रकाशन, प्रसारण हुने सूचना आम नागरिकले ढुक्क भएर पढ्ने, सुन्ने, हेर्ने अवस्था निर्माण गर्नु जरुरी छ ।’