बन्दीपुर गाउँपालिका तनहुँमा महिनावारी स्वच्छता व्यवस्थापन सम्बन्धी तालिम प्रदान र यस विषयमा सचेतना जगाउनका लागि र्याली निकालिएको छ। विश्व शौचालय दिवसको अवसरमा शुक्रबार गाउँपालिकाको सभा हलमा सुलभ सेनेटेसन क्लब, सुलभ इन्टरनेसनल, भारतको आयोजनामा बन्दीपुर गाउँपालिकाका महिला कर्मचारीहरूको लागि महिनावारी स्वच्छता व्यवस्थापन सम्बन्धी तालिम प्रदान गरिएको हो।
महिनावारी स्वास्थ्य व्यवस्थापन (Menstrual Health Management – MHM) सरसफाइका तरिकाहरू पानी व्यवस्थापन बारे समूहमा छलफल सहित फ्लो चार्ट प्रयोग गर्दै, घर र समाजमा सरसफाइ सुधार्नका लागि प्रभावकारी रणनीतिहरूको आदानप्रदान गरिएको थियो।

सुलभ सेनेटेसन क्लब, सुलभ इन्टरनेसनलका चिफ कोडिनेटर रुपक रोय चौधरी, कोडिनर समिक्षा दास, तुलसी बिश्वकमा र आकृति मिश्रले सहजीकरण गरेका थिए ।तालिम पश्चात बन्दीपुरको वडा नम्बर ४ स्थित ३ धाराबाट बजार सम्म विद्यार्थीहरूको उपस्थितिमा सचेतनाका लागि र्याली समेत निकालिएको थियो। र्यालीमा भानु माध्यमिक विद्यालय र नोट्रेडेमका १०० जना विद्यार्थीहरूको सहभागिता रहेको थियो। विद्यार्थीहरूले सरसफाइ र स्वच्छताका सन्देशहरू समेटिएका पोस्टर बोकी बन्दीपुरको बजारमा नाराहरू लगाएर जनचेतना फैलाएका थिए।
कार्यक्रममा बन्दीपुर गाउँपालिका उपाध्यक्ष पञ्चमाया गुरुङ, प्रमुख प्रशासकीय अधिकृत यादवराज आचार्य, स्वास्थ्य शाखा प्रमुख किरण श्रेष्ठ, गाउँपालिकाका महिला कर्मचारी, बिभिन्न बिद्यालयका शिक्षिका, स्वास्थ् संस्थाका महिला प्रतिनिधिहरु सहित स्थानीय तथा समाजसेवी पुष्कर प्रधान को आतिथ्यता रहेको थियो।
