तनहुँको शुक्लागण्डकी नगरपालिकाले नगर स्तरीय योजनालाई प्रभावकारि रुपमा सञ्चालन र सम्पन्न गर्न वडामै पुगेर योजना सम्झौता गर्न सुरु गरेको छ । नगरपालिकाले आवश्यकता अनुसार वडा वडामा योजना सम्झौता शिविर सञ्चालन गर्ने उदेश्यले शिविर सुरु गरेको हो । जनतालाई घरदैलोमै पुगेर सेवा दिने नगपालिकाको लक्ष्य अनुसार सोमबार वडा नम्वर २ मा शिविर सञ्चालन गरिएकोप्रमुख प्रशासकीय अधिकृत रामचन्द्र लामगादेले बताउनुभयो । उक्त शिविर मार्फत १६ वटा योजना सम्झौता गरिएको नगरपालिकाका सुचना अधिकारी समेत रहनुभएका प्रशासन शाखा प्रमुख लक्ष्मण लम्सालले जानकारी दिनुभयो । लम्सालले नगर स्तरीय पूर्वाधार विकासका योजनाहरु सम्झौता गर्न नगरपालिकाका कर्मचारी र एनआइसी एसिया बैकका कर्मचारीहरु संयुक्त रुपमा वडा वडामा पुग्ने बताउनुभयो । प्रमुख प्रशासकीय अधिकृत लामगादेले शिविर सञ्चालनबाट नगर स्तरीय योजना समयमा नै सम्पन्न गर्न सहयोग पुग्ने विस्वास ब्यक्त गर्नुभएको छ । उहाँले उपभोक्ता समिति योजना सम्झौता गर्न ढिला आउने र काम समेत समयमा नहुने भईहालेपनि गुणस्तरीय नभएको पाइएकाले नगरपालिकाले शिविर मार्फत सेवा दिन थालेको बताउनुभयो । योजना सम्झौता शिविरमा सेवा लिन आएका उपभोक्ताहरुले नगरपालिकाको कार्यले सहजता भएको भन्दै खुशी ब्यक्त गरेका थिए ।