मुस्ताङ आर्ट प्रोजेक्टको आयोजनामा हिमालपारिको जिल्ला मुस्ताङमा प्रकृति, संस्कृति र सिर्जनाशीलताको उत्सवका रूपमा यही कात्तिक २ गतेदेखि ८ गतेसम्म सप्ताहव्यापी इन्टरनेसनल माउन्टेन आर्ट फेस्टिभल हुने भएको छ ।हिमाली क्षेत्रको पर्यटन प्रवर्द्धनमा आफूहरू सामूहिक प्रयासमा जुटेको बताउँदै उनले पहिलोपटक मुस्ताङमा यस किसिमको कार्यक्रम गर्न लागिएको युवा ट्रिपल पी गुरुङले जानकारी दिए ।महोत्सवमा नेपालका श्रीजन राजकर्णीकार, एरिना ताम्राकार, हरेराम जोजु, एनबी गुरुङ, वाङ लामा, मनोज तामाङ, आकाश गुरुङ, ध्वज गुरुङ, नवीन नाल्बोलगायत थाइल्यान्ड, पोल्यान्ड, रुमानिया, इन्डोनेसिया, ताइवान र भुटानका १६ जना कलाकारले हिमाली क्षेत्रमा तत्स्थानीय  सजीव चित्रकला र सिर्जनात्मक प्रस्तुति दिनेछन् ।

महोत्सवमा काठमाडौँ अन्तर्राष्ट्रिय पर्वतीय चलचित्र महोत्सवअन्तर्गत हुने फिल्म प्रदर्शनीले पर्वतीय समुदायको कथा र प्रकृतिको सौन्दर्यलाई सिनेमाका माध्यमबाट प्रस्तुत गरिनेछ । फिल्म प्रदर्शनीले हिमाली जनजीवनको सङ्घर्ष, सफलताका कथा र प्राकृतिक छटालाई पर्दामा उतार्नेछ, जसले दर्शकलाई हिमाली जीवनशैलीको अनभिज्ञ पक्षहरूसँग जोड्नेछ । हिमाली क्षेत्रको भू–भूगर्भीय विशेषता महोत्सवको अर्को आकर्षण रहेको छ । फोसिल हन्ट र स्टोन आर्ट कार्यक्रमले पुराना जीवाश्मको खोजी र त्यसमा आधारित कला सिर्जनालाई प्रोत्साहित गर्नेछ । हिमाली क्षेत्रको समृद्ध इतिहास र भूगर्भीय महत्वलाई कलात्मक रूपमा प्रस्तुत गर्नु कार्यक्रमको उद्देश्य रहेको गुरुङले बताए ।संस्कृति र परम्परालाई जीवन्त राख्न स्थानीय सङ्गीत, नृत्य र सांस्कृतिक कार्यक्रम पनि राखिएको महोत्सवमा मुख्य प्रायोजकमा रेडहाउस लज र थाङविल्ला रहेका छन् भने युरोपियन युनियनले सहयोग गरेको छ । मुस्ताङको प्राचीन सांस्कृतिक धरोहरलाई जगेर्ना गर्ने उद्देश्यले आयोजित महोत्सवले नेपाललाई विश्व सांस्कृतिक क्षेत्रमा स्थापित गर्ने अभिप्राय: राखेको छ ।

महोत्सवले हिमाली जीवनशैली, प्राकृतिक सौन्दर्य र सांस्कृतिक विविधताको महत्वलाई कलाका माध्यमबाट उजागर गर्दै स्थानीय पर्यटनलाई प्रोत्साहन गर्न, अन्तर्राष्ट्रियस्तरमा नेपाली कला र संस्कृति प्रस्तुत गर्न, मुस्ताङ क्षेत्रलाई थप लोकप्रिय बनाउन महत्त्वपूर्ण भूमिका खेल्ने गुरुङले विश्वास व्यक्त गरे। स्थानीय स्तरमा रोजगार सिर्जना गर्न, सांस्कृतिक सम्पदाको संरक्षणमा टेवा पुर्याउन र अन्तर्राष्ट्रियस्तरमा नेपालको सांस्कृतिक पहिचानलाई महोत्सवले मजबुत बनाउने र यो नेपालका लागि मात्र नभई समग्र विश्वका कलाप्रेमीका लागि प्रेरणाको स्रोत बन्न सक्ने आयोजकले दाबी गरेको छ ।