कैलालीका किसानलाई यतिबेला खेतमा पाकेको धानबाली भित्र्याउन भ्याइनभ्याइ भएको छ । किसानले वर्षाको समयमा रोपेको धानबाली एकातिर खेतबारीमा लटरम्म पाकेर तयारी अवस्थामा छ भने अर्कातिर दैनिकजसो मौसममा फेरबदल देखिन थालेपछि उनीहरुलाई धानबाली भित्र्याउन भ्याइनभ्याइ भएको छ ।धनगढी उपमहानगरपालिका–२ भन्सार कटानका किसान नरबहादुर विष्टले खेतमा धान लटरम्म पाकेर बाली झर्ने अवस्थामा पुगेको र मौसममा पनि कतिखेर बादल लाग्न थालेपछि आफूले वर्षभरिका लागि जोहो गरेर खाने अन्न बिग्रिने भन्दै चिन्ता व्यक्त गर्नुभयो ।
उहाँले भन्नुभयो, “हिजोआज घरको सबै काम छोडेर खेतमै बढी समय बित्ने गरेको छ, झिसमिसे अँध्यारो समयसम्म खेतमै हुन्छौँ र बिहान पनि सबेरै खेतमा जान्छौँ ।” केही दिनदेखि बादल लागेर पानी पर्ने जस्तो मौसम देखिन थालेपछि लगानी र परिश्रम खेर जाने हो कि भन्दै यहाँका अधिकांश किसानका मनमा एक किसिमको चिन्ता हुन थालेको छ ।खेतमा धान काट्दै गरेका धनगढीको बडहराका किसान सुकराम चौधरीले मौसम खराब देखिन थालेपछि राति अबेरसम्म पनि धान भित्र्याउनका लागि थ्रिसेरको पालो कुर्नुपरेको दुःखेसो पोख्नुभयो । धान थ्रेसर गर्नका लागि पालो पर्खिंदासमेत धान थ्रेसर गर्ने किसानको चापका कारण मेसिन नपाएरै फर्कनु परेको उहाँले बताउनुभयो ।
हातैले धान काट्ने र धानको मुठा चुटेर परम्परागत तरिकाले धान भित्र्याउने गरेका किसान यतिबेला मौसमी गड्बडीका कारण आधुनिक उपकरण प्रयोग गरी धान भित्र्याउन लागिपरेका छन् ।किसानहरु पहिले एकअर्कासँग पालोपैंचो तथा पर्मा गर्दै हातैले धान काट्ने, चुट्ने र भित्र्याउने गर्दथे भने हिजोआज ती परम्परा विस्थापित हुन थालेका छन । नेपालीहरुको महान चाड बडादसैँ सुरु भइसकेको छ । दसैँको टीकाको दिन आउन तीन दिन मात्रै बाँकी छ ।
तैपनि यहाँका किसान मौसममा गडबडी देखिन थालेपछि दसैँलाई बेवास्ता गर्दे उनीहरु खेतमा पाकेको धानबाली भित्र्याउन आ–आफ्ना खेतमा सानादेखि ठूला घरपरिवारका सबै सदस्यहरु जुटेको पाइन्छन् । केही थोरै खेत हुने साना किसानहरुले त धान काटेर थ्रेसर गरेर धान घरमा भित्र्याइसका छन । किसानका खेतमा यसवर्ष सर्जु, मन्सुली, भालेमन्सुली, राधा–४ लगायतका विभिन्न उन्नत धानका जात बढी मात्रामा देखिन्छन् ।