सिद्धार्थ बिजेसन ग्रुप अफ हस्पिटालिटी व्यवस्थापनमा तनहुँको दमौलीमा तीन तारे स्तरको ‘सिद्धार्थ होटल दमौली’ आजबाट सञ्चालनमा आएको छ । आज पत्रकार सम्मेलन मार्फत दमौलीको सुविधा सम्पन्न होटल औपचारिक रूपमा आजदेखि सञ्चालनमा आएको जनाकारी गराईएको हो । सिद्धार्थ हस्टिपालिटीअन्तर्गत पाँच तारे स्तरमा सिद्धार्थ भिलासा, चार तारे स्तरमा सिद्धार्थ वैभव र तीन तारे स्तरमा सिद्धार्थ बाटिका ब्राण्डका होटल सञ्चालनमा रहेको ऐपेक्स हस्पिटालिटीका कार्यकारी प्रमुख सुशील न्यौपानेले बताउनुभयो । । न्यौपानेका अनुसार जसमध्ये दमौलीको यो होटल सिद्धार्थ बाटिका अन्तर्गतको ब्राण्डमा पर्छ ।
होटल र दुई वटा फिल्म हल रहेको यो परियोजनामा करिब १ अर्ब रुपैयाँ लगानी भएको न्यौपानेले बताउनुभयो । होटलको निर्माण एपेक्स हस्टिपालिटीले र व्यवस्थापन सिद्धार्थ ग्रुपले गरेको हो । नेपालकै ठूलो हस्पिटालिटी सञ्जाल, अन्तर्राष्ट्रिय स्तरको सेवा, विश्वसनीयता तथा कुशल व्यवस्थापनका कारण होटल व्यवस्थापन सिद्धार्थ ग्रुपसँग सहकार्यका गरिएको न्यौपानेले बताउनुभयो । होटलमा सुविधासम्पन्न कूल ३४ वटा कोठा छन् । त्यसबाहेक करिब एक सय ५० जना क्षमताको एउटा हल र करिब ४० जना अट्ने दुई हल रहेको सिद्धार्थ गुप अफ हस्पिटालिटी सिइओ कृष्ण न्यौपानेले बताउनुभयो । न्यौपानेलेका अनुसार नेपालको पर्यटन क्षेत्रका बहुचर्चित गन्तव्यहरु पोखरा र बन्दिपुरको बीचमा रहेको दमौली आफैमा विविधतापूर्ण र प्रचुर पर्यटकीय सम्भावना भएको ठाउँ हो ।
महर्षी वेदव्यासको तपोभूमि, बादलमाथिबाट सूर्यादय देखिने मानुङकोट डाँडा, मत्स्यकन्यालाई पूजिने छाब्दिबाराही र दमौलीको शीरमा अवस्थित तनहुँ कालिकासँगै आदिकवि भानुभक्तले प्रेरणा पाएको घाँसीकुवा जस्ता ऐतिहासिक र पुरातात्विक महत्वका पर्यटकीय गन्तव्यमा आउने पर्यटकसमेतलाई स्तरीय सुविधा प्रदान गर्न होटल सञ्चालनमा ल्याईएको हो ।पृथ्वी राजमार्गले छिचोलेको तनहुँको सदरमुकाम दमौलीको मेन चोकमा रहेको होटल काठमाडौँबाट १५० किलोमिटर पश्चिम र पोखराबाट ५० किलोमिटर पूर्वमा अवस्थित रहेको छ । होटलमा अल डे डाइनिङ रेष्टुरेन्ट, बार रेष्टुरेन्ट र सिद्धार्थ क्याफे रहेको पत्रकार सम्मेलन मार्फत जनाकारी गराईएको छ । होटल रहेको भवनमा क्यूएफएक्स सिनेमा हल समेत भएकाले आगन्तुकले मनोरञ्जन र आतिथ्य एकै स्थानमा पाउनेछन् । पूर्वमा विर्तामोडदेखि पश्चिममा महेन्द्रनगरसम्म फैलिएको सिद्धार्थ हस्पिटालिटीको सेवा सञ्जालमा कूल दुई हजारभन्दा बढी जनशक्तिले प्रत्यक्ष रुपमा रोजगारी पाएका छन् भने स्थानीयको संख्या नौ रहेको होटलले जनाएको छ ।