कार्तिक ६ तनहुँ
तनहुँ दुलेगौडाका दिलबहादुर सार्की यति बेला पुराना मादल मर्मत गर्नमै ब्यस्त देखिनुहुन्छ । केही बर्ष अघिसम्म नयाँ मादल बेचेर नभ्याउने गरेको स्मरण गर्दै सार्कीले अहिले मादलको विक्री ह्वात्तै घटेको बताउनुभयो । चार दशकदेखि मादल बनाउने र विक्री गर्ने पेशामा संलग्न सार्की अहिले बर्षैभरि फुर्सदिलो बन्नुपर्दा पेशाबाट विमुख हुनुपर्छ कि भन्ने चिन्तामा हुनुहुन्छ ।


तीन बर्ष अघिसम्म तिहारमा मात्र लाखौको मादल बेच्नुभएका माईला मादल पसलका सार्कीले अहीले मुस्किलले दिनमा दुई–तीन वटा मादल विक्री हुने गरेको बताउनुभयो । ‘अहिले सवैका हात–हातमा मोबाईल छ, सवै त्यसैमा आउने भएपछि रंग–रमाईलो पनि हराउदै गयो ।’ उहाँले भन्नुभयो, ‘गाउँघरमा पहिले जसरी जम्मा भएर रमाईलो गर्ने चलन नै छैन ।


प्रविधिको विकाससँगै जातीय र सांस्कृतिक पेशा लोप हुने क्रम बढ्न थालेको सार्कीको बुझाई छ । उहाँले मेला महोत्सवमा पनि सांस्कृतिक बाजा भन्दा बढी प्रविधीमा आधारित सामाग्रीको प्रयोग बढेको बताउनुहुन्छ । माईला मादल पसलमा फाट्टफुट्ट आउने ग्राहक समेत परिवर्तनशिल छैनन् । ‘मादल किन्न आउनेहरु त्यही पुराना बुढाहरु हुन् जस्ले मोवाईल चलाउन सक्दैनन् ।’ उहाँले भन्नुभयो ‘यस्तै हुने हो भने हामी बनाउनेहरु त अन्य पेशा गरेर पनि जीवनको गुजारा चलाम्ला तर संस्कृति त हराउदै जान्छ नि ।’
संस्कृतिको जगेर्ना गर्न नागरिक स्वयं त सचेत हुनुपर्छ सरोकार वाला निकाय पनि गम्भिर बन्नुपर्ने सार्कीको भनाई छ । ‘यो पेशा जोगाउन कसैको साथ सपोट छैन हजुर, सरकारले त हामीलाई देख्दै देख्दैन ।’ मादल बनाउन आवश्यक पर्ने गाई र गोरुको छाला शुक्लागण्डकी नगरपालिकाले ब्यवस्थापन गर्न सक्ने भएपनि नगरेको उहाँको गुनासो छ । नगरपालिकाले सञ्चालनमा ल्याएको गौसंरक्षण केन्द्रबाट मरेका चौपायाको छाला पाउन पाए छालाकै लागि भारतका बजारसम्म पुग्न नपर्ने उहाँले जानकारी दिनुभयो । मादलका लागी आवश्यक पर्ने गाई, गोरु र बाख्राको छाला लिन उहाँ भारतको सिलगुडीसम्म पुग्ने गर्नुहुन्छ ।


कच्चा पदार्थको जोहो गर्नै समस्या भएको कारण सार्कीका छोरा दुर्गाबहादुर यो पेशालाई निरन्तरता दिन चाहानुभएन । ‘बुवाको पेशालाई निरन्तरता दिन गाह्रो छ’ दुर्गाबहादुरले भन्नुभयो, ‘मुख्य कुरा यो सिजनमा मात्र हुने पेशा हो, अर्काे कुरा उहाँले पुर्खादेखि गर्दै पेशाबाट सवै सामाग्री जुटाएर ग्राहकको लागि सामान तयार पार्न गाह्रो भएको छ भने मलाई सहज छैन ।’ मादलको ब्यापार खस्किदै जान थालेपछि सिजनमा मात्र बुवासँगै मादल बनाउन देखिने उहाँ अधिकाँश समय घर बनाउने पेशामा संलग्न हुनुहुन्छ ।
यता तनहुँ कलाकार संघका अध्यक्ष कृष्ण प्रसाद गौतमले भने मादलको ब्यापार घटेपनि आवश्यकता भने अपरिहार्य भएको बताउनुहुन्छ ।

‘स्टुडियो देखि सांगितिक कार्यक्रममा अनिवार्य मादलको प्रयोग भएकै हुन्छन् ।’ गौतमले भन्नुभयो, ‘पहिला जस्तो नहुनु त समयले सवै कुरा सजिलो बनाईदिएर पनि होला ।’ नजिकिदो तिहारमा संघ मार्फत खेलिने देउसी भैलोमा सकेसम्म मौलिक रुपमा प्रस्तुत हुने उहाँहरुको योजना छ ।


कलाकार र कलाकारसँग सम्वन्धित संस्थाले पनि सांस्कृतिक बाजाको संरक्षण गर्नुपर्छ भन्ने उदेश्यले संघ मार्फत बाद्यबादनका सामाग्री जुटाएर सदस्यहरुलाई निशुल्क रुपमा प्रशिक्षण दिने ब्यवस्था मिलाएको उहाँले जानकारी दिनुभयो । अहिले खैरेनीटारमा रहेको कलाकार संघको कार्यालयमा मादल, हार्माेनियम, बासुरी लगायतका बाद्यवादनका सामाग्री खरिद गरेर ल्याईएइको छ । संघमा आवद्ध कलाकारहरुले ईच्छा अनुसारको बाजा बजाउन प्रशिक्षकको ब्यवस्था गरेर तालिम दिने तयारी भईरहेको छ ।