सरकारले आधारभूत तह सम्म्मको अध्ययन निशुल्क एवं अनिवार्य र माध्यमिक तहसम्मको अध्ययन निशुल्क हुनुपर्ने संंबैधानिक व्यवस्था गरेपनि व्यवहारत लागु हुन सकिरहेको छैन । आवश्यक शिक्षक दरबन्दीको अभाव, विद्यालय सञ्चालनका लागि पर्याप्त बजेट नहुनु लगायतका समस्याले सरकारी विद्यालयले विद्यार्थीबाट शुल्क असुल गर्दै आईरहेको अवस्थाको अन्त्य गर्दै तनहुँको एक विद्यालय विद्यार्थीले संवैधानिक ब्यवस्था भए अनुसार नै निशुल्क अध्ययन गराउने भएको छ ।


जिल्लाको शुक्लागण्डकी नगरपालिका ३ कवासेमा रहेको शहिद कृष्ण माविले विद्यार्थीहरु मार्फत लिदै आएको मासिक शुल्क नलिई निशुल्क अध्यापन गराउने घोषणा गरेको हो । विद्यालय सञ्चालनका लागि आवश्यक पर्ने बजेट अन्यन्त्रबाट ब्यवस्थापन गर्ने तर विद्यार्थीबाट शैक्षिक शुल्क नलिने निर्णय गरिएको प्रधानाध्यापक राजन खनालले पत्रकार सम्मेलन गरि जानकारी दिनुभयो । अभिभावकको चाहाना अनुसार अंग्रेजी माध्यमबाट अध्यापन हुदै आएको यस विद्यालयले केही संख्यामा दरवन्दीका शिक्षक ब्यवस्था गरेसँगै निजि स्रोतका शिक्षक हटाएर अभिभावकले तिर्दै आएको मासिक शुल्क नलिने घोषणा गरेको हो ।


विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पर्शुराम भण्डारीले सरकारको निती अनुसार विद्यार्थीले पढ्न पाउने व्यवस्था गर्ने विद्यालय सम्भवत आफ्नो मात्र रहेको दावि गर्नुभयो । भण्डारीले दरवन्दीकार शिक्षकले अपुग भए स्वयमसेवक शिक्षकको व्यवस्थापन गरेर भएपनि विद्यालयलाई संवैधानिक व्यवस्था अनुसार सञ्चालन गर्ने बताउनुभयो ।
यस विद्यालयमा अध्ययन गर्न चाहाने विद्यार्थीले आगामी बर्षबाट परिक्षा शुल्क र विद्यालयको बस प्रयोग गर्नेले मात्र बस सेवा शुल्क तिर्नुपर्ने अन्य कुनै पनि शिर्षकमा रकम नलिईने विद्यालय जनाएको छ । विद्यालय सञ्चालनका लागि आवश्यक पर्ने बजेट विद्यालय मातहतमा रहेका सटर भाडा, महायज्ञ मार्फत संकलन गरिएको रकमको ब्याज र स्थानीय सरकारबाट ब्यवस्थापन गर्ने विद्यालयको योजना रहेको छ । दुलेगौडा बजारबाट केही दुरीमा रहेको यस विद्यालयमा अहिले तीन सय बढी विद्यार्थी अध्ययनरत रहेका छन् । विद्यालयमा नर्सरीदेखि कक्षा १० सम्म अध्यापन गर्न सकिन्छ ।