बझाङको देउलेकका परमले बोहरा ३५ वर्षदेखि भारतीय सहर पिथौरागढमा भारी बोक्दै आउनुभएको छ । उहाँ भारी बोकेरै पाँच छोराछोरीको लालनपालन गर्दै आउनुभएको छ । पिथौरागढको सिमलगैर बजारमा मजदुरी गर्दैआउनुभएका बोहरा भारी बोकेर पाउने रकमले घरखर्चको जोहो गर्न सहज भएको बताउनुहुन्छ ।“नेपालमा रोजगारी पाइँदैन, यहाँ आउने बित्तिक्कै काम पाइन्छ”, नौ वर्षको उमेरदेखि पिथौरागढमा भारी बोक्दैआउनुभएका बोहराले भन्नुभयो । उहाँले केही वर्ष भारतको दिल्ली र बेङ्लुरुमा पनि मजदुरी गर्नुभयो । पिथौरागढमा भारी बोक्ने बोहरा एक्लै मात्र होइनन् । उहाँले जस्तै सुदूरपश्चिम र कर्णली प्रदेशका सयौँ नेपाली भारतीय सहरमा मजदुरी गरेरै घरखर्च चलाउँदै आएका छन् । “यहाँ भारी बोक्ने काम प्रायः नेपालीले मात्र गर्ने गरेका छन्”, बोहराले भन्नुभयो । नेपालमै पसिना बगाउने आफ्नो रहर भए पनि बाध्य भएर विदेशी भूमिमा भारी बोक्नु परेको दुखेसो गर्नुभयो ।

“गाउँमा पहिलाभन्दा अहिले रोजगारी त पाउने गरेको छ, तर मजदुरी गर्न पनि राजनीतिक भेदभाव हुने गरेको छ”, बोहराले भन्नुभयो । भारतमा पनि मजदुरी गर्न सहज नभएको उहाँको भनाइ छ । “कुनै दिन काम नपाएर भोकै सुत्नुपर्ने बाध्यता पनि छ”, उहाँले भन्नुभयो–“यहाँ पनि कहिले काम पाइन्छ कहिले पाइँदैन, काम गर्न आउने नेपालीको सङ्ख्या अत्यधिक छ ।” बोहरासँगै रोजगारीका लागि आएका तीन जना मिलेर रु दुई हजार भाडा तिरेर कोठा भाडामा लिएर बोहरा बस्दै आउनुभएको छ । मजदुरी गर्न आउने जाने क्रम चलिरहन्छ । उनीहरुले घरको खेतीपाती पनि आफैले गर्नुपर्ने बाध्यता छ । “यहाँको कमाइले लत्ताकपडा लगेर घर जान्छौँ”, बोहराले भन्नुभयो, “पैसा अभावले छोराछोरीलाई स्कुल पढाउन सकेको छैन ।”

बैतडीको पुर्चाैडी नगरपालिका–८ मल्लादेहीका परमानन्द जोशी पनि रोजगारीका लागि पिथौरागढ पुग्नुभएको छ । उहाँ खेतीपातीको काम सकेर रोजागरी खोज्दै पिथौरागढ पुग्नुभएको हो । “मजदुरी गरेबापत दैनिक रु छ सय पाइन्छ”, जोशीले भन्नुभयो, “घरबाट आएको केही दिनमात्रै भयो ।” उहाँले ४० वर्षदेखि भारतमा मजदुरी गर्दै आएको बताउनुभयो । स्वदेशमा परिवार पाल्नका लागि कुनै सीप नचलेपछि बाध्य भएर विदेशिनुपरेको उहाँले गुनासो गर्नुभयो । जोशीका तीन छोरा छन् । आर्थिक अभावकै कारण उनीहरुलाई पढाउन नसकेको उहाँ बताउनुहुन्छ । “एउटा छोरा रोजगारीका लागि भारतकै बैङ्लुरु गएको छ । दुई छोरा घरमै छन्”, जोशीले भन्नुभयो, “छोराले पनि नेपालमा रोजगारी पाउन सकेनन् ।”

पिथौरागढको बजार पस्दा घरदेश छाडेर मजदुरी गरिरहेका सयौँ नेपाली भेटिन्छन् । तीस वर्षअघि सुदूरपहाडका नेपाली पिथौरागढ पुगेर घिउ बेच्थे । घिउ बेचेर नुन र लत्ताकपडा किन्थे । पहिले वस्तु र बस्त्रको व्यापार हुन्थ्यो । अहिले पसिनाको व्यापार चलेको छ । बैतडीको पुर्चाैडीका उत्तमसिंह धामीको पनि उही बाध्यता छ । “यहाँ मजदुरी गरेर घरखर्चको जोहो गर्न थालेको ३५ वर्ष भयो”, धामीले भन्नुभयो, “छ महिना स्वदेशमा घरखेतको काम गरेर छ महिना यहाँ मजदुरी गर्न आउँछौँ ।” बैतडीमा रहेको फलाम खानी उत्खनन गरे आफूहरुले घर नजिकै रोजगारी पाउन सक्ने उहाँको भनाइ छ ।

“हाम्रो देशमा रोजगारी पाउने धेरै सम्भावना छन । मेरो जिल्ला बैतडीमा फलाम खानी छ । सरकारले उत्खनन त गर्नुप¥यो”, उहाँले भन्नुभयो, “सरकारीस्तरबाट स्वदेशमै रोजगारीका लागि पहल नभए अब आउने पुस्ता पनि हामी जस्तै परदेशमा भारी बोक्न बाध्य हुनेछन् ।” पिथौरागढको पुरानो नाम ‘सोर’ हो । कर्णाली नदीमा पुल बन्नु अघिसम्म सुदूरपश्चिम र कर्णाली प्रदेशका पहाडी जिल्लाका नागरिक नुन लिन पिथौरागढ नै पुग्ने गरेका थिए । अहिले पनि उपचार र किनमेलका लागि उनीहरु पिथौरागढ धाउँछन् । पिथौरागढ बजार क्षेत्रमा पुग्दा सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका सयौँ नेपाली भारी बोक्दै गरेका भेटिन्छन् ।