तनहुँको व्यास नगरपालिका वडा नं १२ स्थित रहेको मत्यकन्या आधारभूत विद्यालयका विपन्न बालबालिकालाई वायोमी ईन्टरनेशनल एनजिओले शैक्षिक सामग्री वितरण गरिएको छ । संस्थाले विद्यालयका १ सय ४७ जना विपन्न बालबालिकालाई शैक्षिक सामग्री वितरण गरेको हो। विपन्न बालबालिकालाई पठनपाठनमा सहज होस भन्दै संस्थागत उत्तरदायित्व कार्यक्रम अन्तर्गत झोला, कापी, कलम लगायत शैक्षिक सामग्री वितरण गरिएको वायोमी ईन्टरनेशनल एनजिओका प्रमुख राजेन्द्र अधिकारीले जानकारी दिए ।

विद्यार्थीलाई शैक्षिक सामग्री व्यास नगरपालिकाका नगरप्रमुख वैकुण्ठ न्यौपानेले हस्तान्तरण गरे । हस्तान्तरण गदै उनले शैक्षिक सामग्री पाएपछि आर्थिक अवस्था कमजोर भएका बालबालिकालाई अध्ययन गर्न सजिलो हुने बताए । उनले सामाजिक उत्तरदायित्व अन्तर्गत संस्थाले यस्ता कार्यक्रमलाई निरन्तरता दिनुपर्ने बताए । एनिजोका अध्यक्ष अधिकारीले न्यून आय भएका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गर्दा अध्ययन जारी राख्न सहयोग पुग्ने भएकाले अभियानकै रुपमा यस्ता कार्यक्रम जारी रहने बताए । नेपाल आदिवासी जनजाती जिल्ला समन्वय परिषद् तनहँुकी निर्वतमान अध्यक्ष वसुन्धरा घर्तीको सक्रियतामा उक्त शैक्षिक सामग्री वितरण गरिएको हो ।

कापी कलम र शैक्षिक सामग्रीको अभावमा विपन्न विद्यालय आउन नसक्ने बालबालिकाहरुलाई सहज हुने विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मुक्तबहादुर भुजेलले बताए । शैक्षिक सामग्री पाएपछि विद्यार्थीहरु नियमित विद्यालय आउने उनले बताए । कार्यक्रममा एनजियोका भावना थापा, सुरेश कासुला र भावना भुजेले बोलेका थिए । त्यस्तै उक्त वडामा रहेको लामीडाँडामा खानेपानीको समस्या समाधान गर्न उक्त संस्थाले झण्डै एक करोडको लगानीमा खानेपानी आयोजना समेत सञ्चालन गर्ने भएको छ । सोमबार उक्त ठाँउमा नगरपालिकाको प्राविधिक टोली सहित खानेपानी आयोजनाको लागि अध्ययन गरिएको अध्यक्ष अधिकारीले बताए ।