भोजपुरका किसान घाटा खाएर आलु बिक्री गर्न थालेका छन् । उत्पादित आलुको उचित मूल्य नपाएपछि उनीहरु चिन्तामा परेका छन् । आलुको मूल्यमा ५० प्रतिशत बढीले गिरावट आएको छ । विगत वर्षको तुलनामा यस वर्ष आलुको मूल्य आधाले घटेको टेम्केमैयुङ–५ चोलन्तीका पुष्कर विष्टले बताउनुभयो । किसानले गत वर्ष प्रतिकिलो रु ५० मा बिक्री गरेको आलु यस वर्ष प्रतिकिलो रु २५ मा बिक्री गर्न थालेको उहाँको भनाइ छ । चोलन्ती गाउँ र मझौले गाउँमा वार्षिकरुपमा ५० देखि ५५ मेट्रिक टनसम्म आलु उत्पादन हुने गरेको किसान बताउँछन् ।

“यस वर्ष आलुको मूल्य घटेपछि किसानमा निरासा बढेको छ”, विष्टले भन्नुभयो, “मूल्यमा भारी गिरावट आएपछि किसानलाई लागत उठाउन समस्या परेको छ ।” यहाँका किसानले घरबाट नै आलु बिक्री गर्दै आएका छन् । यस वर्ष आलुको उत्पादन बढे पनि मूल्यमा गिरावट आएको छ । लामो समयसम्म भण्डारण गर्दा कुहिने समस्या हुने भएकाले दुई हजार पाँच सय किलो आलु बाध्य भएर कम मूल्यमा बिक्री गरेको उहाँको भनाइ छ । आलुबाट मेहनतअनुसारको प्रतिफल नपाएपछि निरासा थपिएको विष्ट बताउनुहुन्छ । “आलुको उचित मूल्य नपाए पनि कुहिने बिग्रने डरले बिक्री गरे”, उहाँले भन्नुभयो, “लामो समयसम्म भण्डारण गर्न पाएको भए मूल्य राम्रै पाइने थियो । आलु उत्पादक किसानका लागि भण्डारण केन्द्रको व्यवस्था भए उचित मूल्यमा बेच्न सकिन्थ्यो । राज्यले यसमा ध्यान दिनसके किसानलाई राहत हुने थियो ।” ठेकेदारले किसानले बोकेर सडकमा ल्याएको आलुलाई रु २८ तथा घरमा पुगेर रु २५ मा खरिद गर्ने गरेका छन् । यहाँको चोलन्ती र मझौले गाउँलाई आलु उत्पादनको पकेट क्षेत्र मानिन्छ । चोलन्ती गाउँबाट मात्र यस वर्ष करिव १५ मेट्रिक टन आलु खाँदबारी, धरान, इटहरी विराटनगर, काठमाडौँलगायत शहरमा बिक्री भएको स्थानीय व्यापारी लालबहादुर किसानले बताउनुभयो ।

“यस वर्ष तराई क्षेत्रका बजारमा पनि आलुको राम्रो मुल्य छैन”, उहाँले भन्नुभयो, “यहाँका किसानको घरबाट प्रतिकिलो रु २५ देखि रु २८ मा खरिद गरेर लैजाँदै आएका छौँ । विगतका वर्षमा आलुको मूल्य निकै राम्रो थियो । तर यस वर्ष बाह्य बजारमा पनि आलुको उचित मूल्य छैन ।” मझौलेका किसानको भने हालसम्म आलु बिक्री नभएको स्थानीय हीरालाल लुइँटेलले बताउनुभयो । मूल्यको कारण यहाँका अधिकांश किसानको आलु बिक्री नभएको उहाँको भनाइ छ । “हाम्रो मझौले र चोलन्ती गाउँमा आलुको धेरै उत्पादन हुन्छ”, उहाँले भन्नुभयो, “आलुले यस वर्ष राम्रो म्ूल्य पाउन सकेन । मझौले गाउँका धेरै किसानको आलु हालसम्म बिक्री भएको छैन । किसान मूल्यको पर्खाइमा बसेको अवस्था छ ।” उत्पादित आलुको बजारीकरणमा राज्यले सहयोग गरे किसान मारमा नपर्ने किसान लुइँटेलको भनाइ छ ।

बजारको पर्खाइमा बस्दा किसानको आलु कुहिएर नष्ट हुने अवस्था आएको उहाँले बताउनुभयो । “उत्पादन भएको आलुको उचित मूल्य लिएर बिक्री गर्न सकिएको छैन”, उहाँले भन्नुभयो, “भण्डारण गरेको ठाउँमा आलु कुहिन थालेको अवस्था छ । राज्यले उत्पादित आलुलाई बजारीकरणमा सहयोग गरे हामीलाई राहत पुग्ने थियो ।” मझौले गाउँका एउटा किसानले पाँच सय किलोदेखि तीन हजार किलोसम्म आलु उत्पादन गर्दै आएको स्थानीय सन्तोष विष्टले बताउनुभयो । यहाँका ८५ बढी घरपरिवारले व्यावसायिक रुपमा आलुको खेती गर्दै आएका उहाँको भनाइ छ । “यहाँको मुख्य उत्पादन नै आलु र मकै हो”, विष्टले भन्नुभयो । यस क्षेत्रमा बढी मात्रामा भोटाङ्गे पंखदले, धराने, सैलुङगेलगायत जातका आलु उत्पादन हुने गरेको छ ।