संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङको निधनबाट गृहजिल्ला इलाम शोकमा डुबेको छ । नेकपा (एमाले)का उपाध्यक्ष एवम् एमाले संसदीय दलका उपनेता नेम्वाङ प्रतिनिधिसभामा इलामबाट पाँच पटकसम्म सांसदका रुपमा निर्वाचित हुनुभएको थियो । इलामका मतदाताले नेम्वाङलाई संविधान निर्माण र इलामको विकासमा महत्वपूर्ण भूमिका निर्वाह गर्नुहुने व्यक्तिका रुपमा स्मरण गरेका छन् ।विसं २०४८ र २०५२ मा राष्ट्रियसभाको अध्यक्ष हुनुभएका उहाँ २०५६ सालको निर्वाचनपछि कानुन न्याय तथा संसदीय व्यवस्थामन्त्री हुनुभयो । कानुन व्यवसायी र प्राध्यापक समेत रहनुभएका उहाँ २०२९ सालमा अनेरास्ववियुका अध्यक्षसमेत हुनुभयो ।विसं २०३३ मा राजद्रोहीको मुद्दामा जेल पर्नुभएका उहाँ २०६४ र २०७० मा संविधानसभा अध्यक्ष बन्नुभयो । विसं २००९ मा इलामको सुन्तलाबारमा जन्मिनुभएका उहाँले राष्ट्रिय राजनीतिमा सहमति, सहकार्य र एकतामा जोड दिनुहुन्थ्यो ।एमाले इलामका सचिव उमेश गुरुङले उहाँको मृत्युले नेपाली राजनीतिमा ठूलो क्षति पुगेको बताउनुभयो ।

उहाँकै अध्यक्षतामा नेपालमा संविधान जारी भएको भन्दै नेपाली जनताले नेम्वाङलाई सधै स्मरण गरिरहने उहाँको भनाइ छ ।नेपाली कांग्रेस इलामका पूर्वजिल्ला सचिव राजेन्द्र शर्माले नेम्वाङको निधनबाट देशले अपूरणीय क्षति बेहोरेको भनाइ व्यक्त गर्नुभयो । नेकपा (माओवादी केन्द्र) इलामका कार्यालय सचिव तथा प्रदेश परिषद् सदस्य प्रकाश परियारले नेम्वाङको निधनबाट देश र जनताले एक इमान्दार नेता गुमाएको बताउनुभयो ।किरात याक्थुम चुम्लुङका संस्थापकसमेत रहनुभएका नेम्वाङले संविधान निर्माणमा महत्वपूर्ण योगदान रहेको भन्दै किरात याक्थुम चुम्लुङका सङ्घीय सचिव अभिषेक एक्तेनले नेपाली जनतालाई उहाँलाई सदैव स्मरण गर्ने बताउनुभयो ।नेम्वाङको निधनको शोकमा एमालेले पार्टीको झण्डा आधा झुकाएको छ । पार्टीले तीजलगायतका कार्यक्रम रद्द गरेको एमाले इलामका उपसचिव रवीन्द्र सुवेदीले जानकारी दिनुभयो ।