जिल्ला प्रशासन कार्यालय भक्तपुरले ९३ वर्षीया अशक्त ज्येष्ठ नागरिकलाई घरमै पुगेर नागरिकता प्रदान गरेको छ ।प्रशासनले मध्यपुर थिमि नगरपालिका–३ गठ्ठाघर निवासी ९३ वर्षीया गङ्गालक्ष्मी श्रेष्ठलाई उहाँकै निवासमा नागरिकताको प्रतिलिपि प्रदान गरेको हो । विसं १९८६ भदौ ७ गते जन्मनुभएकी श्रेष्ठले विसंं २०४४ फागुन ५ गते नागरिकताको प्रमाणपत्र लिनुभएको थियो ।सो नागरिकता हराएपछि उहाँले एकाघरका परिवारमार्फत प्रशासनमा नागरिकताको प्रतिलिपिको लागि आवेदन दिनुभएको थियो । श्रेष्ठको स्थायी ठेगाना तत्कालीन बालकुमारी गाविस– ८ रहेको छ भने हाल उहाँ मध्यपुरथिमि–३ गठ्ठाघर बस्दै आउनुभएको हो ।
श्रेष्ठ स्वयम् कार्यालयमा उपस्थित भएर नागरिकताको लागि सनाखत गर्न नसक्ने भएकाले उहाँकै निवासमा पुगेर नागरिकता प्रदान गरेको सहायक प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौलाले बताउनुभयो ।नागरिकता नहुँदा सामाजिक सुरक्षा भत्तालगायत राज्यले दिने अन्य सेवा सुविधाबाट समेत वञ्चित हुनुपर्ने अवस्था आउने भएकाले असाह्य, असक्त, दीर्घरोगी, शारीरिक अस्वस्थता र अपाङ्गगताका कारण प्रशासनमा उपस्थित हुन नसक्ने नागरिकलाई घरदैलोमा नै सरकारी सेवा उपलब्ध गराउने नीतिअनुरुप प्रशासनले त्यस्ता नागरिकलाई घरमै पुगेर नागरिकता प्रदान गर्दै आएको सहायक प्रजिअ निरौलाले बताउनुभयो ।श्रेष्ठलाई नागरिकता प्रदान गर्न सहायक प्रजिअ निरौलासहित नागरिकता फाँटका कर्मचारी श्रेष्ठ निवासमा पुग्नुभएको थियो ।
–––