तनहुँ । तनहुँको दमौलीमा पौष २२ शुक्रबारदेखि सुरु भएको पाँचौ आदिवासी जनजाती तनहुँ साँस्कृतिक एवं पर्यटन महोत्सव आठौं दिन शुक्रबार चर्चित राष्ट्रिय गायक, गायिकाको प्रस्तुति रहेकोे थियो ।
नेपाल आदिवासी जनजाती महासंघ जिल्ला समन्वय परिषद तनहुँको आयोजनामा सुरु भएको महोत्सवको आठौं दिन चर्चित गायक पशुपति शर्मा र गायिका मन्जु विक संग दर्शक नाचेका थिए ।
यस्तै महोत्सवको नवौं दिन शनिबार चर्चित गायक बद्री पंगेनी, गायिका कला लम्साल, गायक सन्जिव सिं राना, गायिका प्रिया गुरुङ, गायिका मधु थापा र हर्के हवल्दार टेलिसिरियलका हास्य कलाकार राजेन्द्र गिरि लगायतका राष्ट्रिय तथा स्थानीय कलाकारहरू प्रस्तुति रहने महोत्सवका प्रवक्ता नन्दु थापा मगरले जानकारी दिए ।
‘अमुल्य भाषा संस्कृतिको संरक्षण गरौ, भाषा संस्कृतिको जगेर्ना गर्दै पर्यटनको विकास गरौं भन्ने मूल नाराका साथ आयोजित महोत्सवको आठौं दिन १२ हजार दर्शकले महोत्सव अवलोकन र १५ लाखको कारोबार भएको प्रवक्ता मगरले जानकारी दिए ।
त्यस्तै महोत्सवको सातौं दिनसम्म कुल ८७ हजार दर्शकले महोत्सव अवलोकन र ७२ लाखको कारोबार भएको प्रवक्ता मगरले बताए ।
![](https://tanahuntaranganews.com/wp-content/uploads/2023/01/IMG_1673612141973-713x400.jpg)
यस्तै महोत्सवमा शुक्रबार अन्तर विद्यालय स्तरीय सामुहिक नृत्य प्रतियोगिता समेत भएको थियो । पहिलो दिन बिहिवार ९ समुहको र दोस्रो दिन शुक्रबार ११ समुहको प्रस्तुति रहेको थियो । उक्त प्रतियोगिताको नतिजा माघ २ गते घोषणा गरी माघ ३ गते पुरस्कार वितरण गरिने आयोजकले जनाएको छ ।
गत शुक्रबारदेखि व्यास-३ दमौली स्थित विपी वनवाटिकाको खेल मैदानमा सुरु भएको महोत्सव आगामी माघ ३ गतेसम्म संचालन हुनेछ । महोत्सवमा २ सय ३० वटा स्टल निर्माण गरिएको छ ।
महोत्सवमा करिब तीन लाख दर्शकले अवलोकन गर्नुका साथै रु. एक करोडको आर्थिक कारोवार हुने लक्ष्य राखिएको अध्यक्ष सुजित हिराचनले बताए । महोत्सवले पर्यटन प्रवर्द्धनमा सहयोग पुग्ने विश्वास लिइएको अध्यक्ष हिराचन बताउछन ।
महोत्सवमा दर्शकलाई मनोरञ्जन दिनको लागि राष्ट्रिय स्तरका ख्याति प्राप्त कलाकारहरु ल्याइएको महोत्सवकी निर्देशक बसुन्धरा घर्तीले बताइन् ।
त्यसैगरी महोत्सवको कृषि प्रदर्शनीमा स्थानीय उत्पादनलाई प्राथमिकता दिइएको आयोजकले जनाएको छ । स्टलमा घरेलु तथा हस्तकला, होटेल तथा रेस्टुरेन्ट, डेरी, आइटि इलेक्टिकल्स, बैक तथा वित्तिय संस्था, आइसक्रीम स्टल, अटोमोवाइल्स स्थानीय उत्पादन प्रदर्शन तथा विक्रि स्थल लगायतका स्टलहरु रहेको घर्तीले बताइन ।
‘महोत्सवमा जेष्ठ नागरिक र अपाङ्गता भएकाहरुका लागि निशुल्क प्रवेशको व्यवस्था मिलाइएको आयोजकले जनाएको छ । विद्यार्थीका लागि रु.५० र अन्यका लागि रु.७० टिकट शुल्क रहेको छ ।
![](https://tanahuntaranganews.com/wp-content/uploads/2023/01/IMG_1673610385271-768x346.jpg)
महोत्सवले स्थानीय भाषा,धर्म, कला र संस्कृतिको प्रर्वद्धनका साथै स्वदेशी तथा विदेशी पर्यटकलाई आकर्षित गर्ने लक्ष्य रहेको आयोजक समितिले जनाएको छ ।
महोत्सवमा शैक्षिक प्रदर्शनी, विज्ञान प्रदर्शनी, बाल मेला राखिएको छ । त्यस्तै मादी र सेतीमा जलविहार, आदिवासी जनजातीहरुको जन्मदेखि मृत्युसम्मको संस्कारको प्रर्दशनी, जीवनशैली प्रस्तुती, घर नमूना निर्माण, सांस्कृतिक कार्यक्रम, विद्यालय स्तरीय प्रतिभा प्रस्फुटन लगायतका आकर्षण रहेका छन् ।