आज बुधबार काग तिहार, बिहान यमराजको दूतका रूपमा कागलाई मीठोमीठो खान दिएर मनाइँदैछ । बिहान सूर्योदयकालमा त्रयोदशी भएको दिन काग तिहार मनाउनुपर्ने भएकाले शास्त्रसम्मत रूपमा यो पर्व मनाउनुपर्ने निर्णय गरिएको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । यमराजले लोकको खबर कागका माध्यमबाट थाहा पाउने भएकाले कागलाई यमदूतका रूपमा मान्ने शास्त्रीय मान्यता रहेको छ । कागले यमराजसमक्ष राम्रो खबर लगिदियोस् भनेर आजका दिन कागलाई पूजा आराधनासहित मीठो(मीठो खान दिई खुसी पार्ने चलन छ । लोक व्यवहारमा काग घरमा आई कराएमा ‘शुभ बोल, शुभ बोल’ भन्ने प्रचलनसमेत छ । काग घर वरपर आई कराएमा उसले केही खबर लिएर आएको विश्वास समेत गर्ने गरिन्छ ।