गायक शशि गुरुङले २२ वर्षपछि नयाँ गीत सार्वजनिक गर्नुभएको छ । आज सुन्धारास्थित एक चलचित्र भवनमा उहाँले पत्रकार सम्मेलनको आयोजना गर्दै ‘तिमीले हेर्न चाहे’ को श्रव्यदृश्य सार्वजनिक गर्नुभएको हो ।गुरुङले आगामी दिनमा गायनलाई निरन्तरता दिने बताउनुभयो । “म सरकारी जागिरे भएकाले गीतसङ्गीतलाई निरन्तरता दिन पाइन् । अब निरन्तररुपमा आफूलाई यस क्षेत्रमा प्रस्तुत गर्नेछु”, उहाँले भन्नुभयो, “धेरै गीत गाएर स्थापित वा चर्चित भइदैन भन्ने मैले बुझेको छु । थोरै तर स्तरीय गीतमार्फत आफ्नो दर्शकसँग साक्षात्कार हुन सकिन्छ ।” गुरुङले आफूलाई मामाको प्रभावले गीतसङ्गीतमा अगाडि बढ्न प्रेरणा मिलेको बताउनुभयो ।उक्त गीत प्रकाश सायमीले रचना गर्नुभएको हो भने सङ्गीत सिर्जना प्रविन बराइलीले गर्नुभएको छ । गीतको श्रव्यदृश्यमा कुशल केसी र मुना भूर्तेलले अभिनय गर्नुभएको छ ।

गीत हेर्दा आँखालाई शितलता दिएको र सुन्दा कर्णप्रिय लागेको वरिष्ठ गीतकार नगेन्द्र थापाले बताउनुभयो । “म चलनचल्तीका गीतको सम्पर्कमा छैन । अहिले आइरहेका गीतमध्ये सशक्त शब्द र कर्णप्रिय सङ्गीत भएको गीत यो हो । यो गीत बाचिरहने किसिमको बनेको छ”, उहाँले भन्नुभयो, “उहाँको गायन शैलीको ताजगी उस्तै छ । उहाँलाई निरन्तरता दिनुस् र यस्तै बाच्ने गीतसङ्गीत सिर्जना गर्नुहोस् भन्न चाहन्छु ।”अमेरिकामा रहनुभएका गायक ओमविक्रम विष्टले श्रव्यदृश्य सन्देश पठाउँदै गायक गुरुङलाई शुभकामना दिनुभयो । उहाँले भन्नुभयो, “उहाँ (गायक गुरुङ) सँग गीत गाउने मौका पाएको छैन । उहाँले गर्नुभएको सुरुआतले गीतसङ्गीतमा नयाँ आयाम थप्नेमा विश्वस्त छु । यो स्रोतासँगै सर्जकलाई पनि मनपर्ने गीत बनेको छ ।”उक्त अवसरमा ‘बितेका पलहरु’ बोलको लिरिकल भिडियोसमेत देखाइएको थियो । उक्त गीतमा भूषण खरेलले शब्द रचना र शक्ति बल्लभले सङ्गीत भर्नु भएको छ । कार्यक्रममा गीतकार दिनेश अधिकारी, श्री पुरुष ढकाल, सङ्गीतकार राजुसिंहलगायत सङ्गीतकर्मीको उपस्थिति थियो ।