तनहुँ १२ चैत्र
गत बिहीबार देखि शुरु भएको आठौं तनहुँ महोत्सवको तेश्रो दिन तीस हजार दर्शकले महोत्सवको अवलोकन गरेका छन् । महोत्सवमा करिब रु.पचहत्तर बराबरको आर्थिक कारोबार भएको आयोजक समितिले जनाएको छ ।
शनिबार बिदाको दिन परेकोले महोत्सवमा उल्लेखनीय मात्रमा दर्शकहरुको आवगमन भएको हो । महोत्सवमा राष्ट्रिय ख्याति प्राप्त कलाकारको प्रस्तुति रहेका कारण पनि दर्शकहरु घुइँचो लागेको राष्ट्रिय कलाकार समन्वय समितिका संयोजक कुमार मल्लले जानकारी दिए ।
व्यवसायीक स्टल देखि रमाइलो मेलका पीङहरुमा दर्शकहरुको बाक्लो भीड लागेको उनले बताए ।
महोत्सवमा राजु परियार,रचना रिमाल,लक्ष्मी नेपाली,अनुराग थापा र शम्भु थापाको प्रस्तुतिले दर्शकहरुले भरपुर मनोरञ्जन लिएका थिए । कलाकारको गीतमा साथ र नृत्य गरेर दर्शकहरुले स्टेज तताएका थिए ।
पहिलो दिन हावाहुरी र पानी परेर व्यवसाय ठप्प हुँदा चिन्तित भएका व्यवसायीहरु शनिबारको भीड र व्यापारले राहतको महसुस गरेको महोत्सवका प्रवक्ता ईमकुमार मल्लले जानकारी दिए ।
गायिका रचना रिमालले गीत गाउँदै जब स्टेजबाट तल मैदानमा झरिन् दर्शकहरु असाध्यै हर्षित भएका थिए । दर्शकहरुसंग हातमा हात मिलाउँदै गीत गाउँदा दर्शकहरुले दर्शकहरुले भरपुर मनोरञ्जन लिन पाएका थिए ।
अर्का चर्चित एवं स्वरका धनी राजु परियारले पनि आफ्नो प्रस्तुति दर्शक माझ राख्दै नचाएका थिए । के युवायुवती के बृद्धबृद्धा सबैलाई नचाएर स्टेजको माहौल तताएका थिए ।
भोलीका कलाकारहरु ः
त्यसैगरी महोत्सवको चौथो दिन राष्ट्रिय कलाकारहरु पशुपति शर्मा,एलिना चौहान,क्षेत्रीय कलाकार सरिता सारु,जीवन दाहाल र रमेश मेलाडीको प्रस्तुती रहने आयोजक समितिले जनाएको छ ।
महोत्सवको चौथो दिन पनि राष्ट्रिय ख्याति प्राप्त कलाकारहरु आउने भएकोले दर्शकहरुको बाक्लो भीड लाग्ने अपेक्षा गरिएको राष्ट्रिय कलाकार समन्वय समितिका संयोजक कुमार मल्लले बताए ।
विभिन्न जातजातिको थलो भएको यस जिल्लामा ब्राह्मणको बालन नाच,गुरुङ जातिहरुको घाटु,मगर चुड्का,नेवार जातिहरुको लाखे,कुमाल जातिहरुको पाउदुरे नाच लगायतका पैतृक सम्पत्ति भएकोले यसको संरक्षण र स्थानीय उत्पादित बस्तुको प्रबद्र्धनको लागि महोत्सवले थप टेवा पुग्ने आयोजकले विश्वास लिएको छ ।
महोत्सव अवधिभर करिब तीन लाख दर्शकले महोत्सव अवलोकन गर्नुका साथै करिब रु.६ करोड बराबरको आर्थिक कारोबार भई रु.१५ देखि २० लाखसम्म बचत गर्ने लक्ष्य राखिएको छ ।
साथै यसबर्षको महोत्सवको आर्कषणको रुपमा मादी र सेती नदीमा गरिने मोटर बोर्ड रहेको छ । दुई वटा मोटरबोर्ड मादीसेती नदीमा संञ्चालन गरिएको छ । दश जना क्षमताको उक्त बोर्डमा प्रतिव्यक्ति रु.२५० शुल्क राखिएको छ । मोटरबोर्ड सयर गरेर आनन्द लिनेको संख्या पनि अत्याधिक रहेको आयोजक समितिले जनाएको छ ।
ऐतिहासिक,धार्मिक र साँस्कृतिक पर्यटकीयस्थलहरुको पहिचान गरी प्रबद्र्धन गर्ने उद्देश्यले महोत्सवको आयोजना गरिएको तनहुँ उद्योग बाणिज्य संघका अध्यक्ष एवं महोत्सव मूल समारोह समितिका संयोजक एवं तनहुँ उद्योग वाणिज्य संघका अध्यक्ष पविन्द्र कुमार श्रेष्ठले बताए ।
महोत्सवस्थलमा एक जना डा.सहितको प्राथामिक उपचार स्टल एम्बुलेन्स तयारी अवस्थामो छ भने एउटा एम्बुलेन्स स्टेन्डबाई राखिएको छ ।
टिकटक पार्कमा दर्शकको भीड
त्यसैगरी महोत्सवमा थप रौनकता प्रदान गर्न बनाइएको टिकटक पार्कमा पनि दर्शकहरुको भीड लागेको छ । टिकटक पार्कमा बसेर फोटो खिच्ने र टिकटक बनाउनेहरुको कमी थिएन् ।
टिकटक पार्कले दर्शकहरुलाई एक किसिमको मनोरञ्जन प्रदान गरेको छ । महोत्सवमा घोडा चढेर मज्जा लिन पनि दर्शकहरुको उत्तिकै भीड लाग्ने गरेको थियो ।