गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले धार्मिकस्थललाई पर्यटनसँग जोडेर विकास गर्नुपर्ने बताउनुभएको छ । तनहुँको शुक्लागण्डकी नगरपालिका–२ स्थित मुक्तिनाथ च्यवनधाममा आजदेखि सुरु भएको बोलबम धार्मिक महोत्सवको उद्घाटन गर्दै मुख्यमन्त्री पाण्डेले धार्मिकस्थललाई पर्यटनसँग जोड्न सकिए विकास सम्भव रहेको उल्लेख गर्नुभयो ।
गण्डकी प्रदेश धार्मिक पर्यटनमा धनी रहेकाले धार्मिक पर्यटनको विकासका लागि प्रदेश सरकारले सहयोग गर्ने उहाँको भनाइ छ । मुक्तिनाथ च्वयनधाम पछिल्लो समय धार्मिक पर्यटकीयस्थलका रूपमा विकास भइरहेकाले यसको आवश्यक पूर्वाधार विकासका लागि सरकार सकारात्मक रहेको मुख्यमन्त्री पाण्डेले उल्लेख गर्नुभयो ।
उहाँले भन्नुभयो, “गण्डकी प्रदेश पर्यटनमा धनी छ, धार्मिक पर्यटनमा गण्डकी प्रदेशमा प्रशस्त सम्भावना छ । यसतर्फ सरकारको ध्यान गएको छ ।” च्वयनधाम र गौसंरक्षण केन्द्र सञ्चालनार्थ आर्थिक सङ्कलन गर्ने उद्देश्यसहित च्यवनधाममा बोलबम महोत्सव आयोजना गरिएको हो । साउन १५ गतेसम्म हुने उक्त महोत्सवमा भागवत् मञ्जरी राधिका दासीजीले कथा वाचन गर्नुहुनेछ ।
महोत्सव मूल समारोह समितिका संयोजक विमलप्रसाद रिमालका अनुसार महोत्सवका क्रममा भक्तजन तथा दानवीरबाट सङ्कलित रकम च्यवनधाम र गौ संरक्षण केन्द्रको विकासमा खर्च गरिनेछ । उहाँका अनुसार महोत्सवबाट रु एक करोड सङ्कलन गर्ने लक्ष्य छ । च्यवनधामले प्रत्येक वर्ष साउन महिनामा शिव महिमा तथा बोलबम धार्मिक महोत्सव गर्दै आएको छ ।
च्यवनधाम पछिल्लो समय धार्मिक पर्यटकीयस्थलका रूपमा विकास भइरहेको छ । यहाँ शिव मन्दिरका साथै मुक्तिनाथकै झल्को दिने एक सय आठ धारा, एक सय आठ ओमकार कल्पवृक्ष, एक सय आठ शिवलिङ्ग, मोक्षकुण्ड, वृद्धाश्रम, पार्कलगायतका संरचना बनाइएको छ । बौद्ध धर्मावलम्बीलाई लक्षित गर्दै बौद्ध गुम्बा पनि च्यवनधाम परिसरमा छ । बौद्ध धर्मावलम्बीको जागरूकतालाई सम्मान गर्दै गुम्बा पनि बनाएको च्यवनधाम समितिका अध्यक्ष होमनाथ लम्सालले बताउनुभयो ।
मन्दिर क्षेत्रमा एक दशकको अवधिमा रु तीन करोडभन्दा बढी पूर्वाधार निर्माणमा लगानी गरिएको छ । उक्त रकम दान सङ्कलनसँगै सङ्घीय सरकार, प्रदेश सरकार र स्थानीय सरकारले पनि उपलब्ध गराएका छन् । मन्दिरमा अझै पनि पूर्वाधार थप गर्ने योजना छ । त्यसका लागि तीन तहका सरकारसँग सहयोग मागिने बताइएका छ । अब धाम परिसरमा बृहत् योजनाअनुसार विकास गर्ने मन्दिर व्यवस्थापन समितिका अध्यक्ष लम्सालले जानकारी दिनुभयो । गुम्बाको तलपट्टि मिनी चिडियाखाना बनाउने योजना बनाइएको छ । गण्डकीको तीरको ढिस्कोको माथिपट्टि हनुमानको मूर्ति र त्यसको तलपट्टि शनि देवताको मूर्ति बनाउने योजना छ ।
च्यवनधाममा नयाँ वर्ष, साउने सोमबार, कृष्णअष्टमी, बाला चतुदर्शी र शिवरात्रिमा भक्तजनको बढी घुइँचो लाग्छ । प्रत्येक वर्षको साउन महिनामा शिवपुराण लगाउने गरिएको छ । लम्सालका अनुसार साउनमा प्रत्येक सोमबार र शिवरात्रि पर्वको बेला यहाँ दैनिक पाँच हजारभन्दा बढी भक्तजन भेला हुन्छन् । च्यवनधाममा रहेको शुक्लेश्वर महादेवको मन्दिरमा पूजाअर्चना गरेपछि सन्तान नभएकालाई सन्तान प्राप्ति हुने जनविश्वास रहेको छ ।